काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिमा गृहसचिव र नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्कीमाथि सांसदहरूले गरेको व्यवहारप्रति गृहमन्त्री सुधन गुरुङले असन्तुष्टि जनाएका छन्।
शुक्रबार संसद्को कानुन समितिमा बोल्दै गृहमन्त्री गुरुङले आरोप र उजुरीकै आधारमा कसैको चरित्रहत्या गर्न नमिल्ने बताएका हुन्।
उनले प्रहरी प्रमुखमाथि समितिमा भएको व्यवहारप्रति गृह मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै त्यसबाट आफूहरू खुसी नरहेको बताए। आरोप र उजुरीका आधारमा कसैलाई दोषी ठहर गर्न नहुने उनको भनाइ थियो।
गत बुधबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीका पोसाक तथा अन्य सामग्री खरिदमा अनियमिततासम्बन्धी उजुरीमाथि छलफल भएको थियो।
छलफलका क्रममा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि तत्काल छानबिन गर्नुपर्ने माग गरेका थिए।
सांसद सुनारले तत्कालीन गृहमन्त्री, गृहसचिव र आईजीपीलाई सेवाबाट निलम्बन गरी जिम्मेवारीबाट हटाएर छानबिन गर्नुपर्ने धारणा राखेका थिए।
गृहमन्त्री गुरुङले भने आरोप वा उजुरीकै आधारमा कसैलाई न्यायाधीशको भूमिकामा रहेर दोषी ठहर गर्न नहुने बताएका छन्।
