• Monday 5th of October 2026

गृहसचिव र आइजिपी माथि लेखा समितिमा भएको व्यवहारप्रति गृहमन्त्री गुरुङ असन्तुष्ट


  • धनकुटा खबर
  • .

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सार्वजनिक लेखा समितिमा गृहसचिव राजकुमार श्रेष्ठ र नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्कीमाथि भएको व्यवहारप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन्।

प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिको शुक्रबारको बैठकमा बोल्दै गृहमन्त्री गुरुङले आफ्नो अनुपस्थितिमा गृहसचिव र प्रहरी प्रमुखमाथि सार्वजनिक लेखा समितिमा गरिएको व्यवहार उचित नभएको बताए।

‘मेरो अनुपस्थितिमा गृहसचिव र नेपाल प्रहरीका आइजिपीलाई जुन व्यवहार सार्वजनिक लेखा समितिमा भयो, त्यसमा मेरो ध्यानाकर्षण भएको छ,’ उनले भने, ‘यो राम्रो भएन। उजुरीको भरमा न्यायाधीश बन्न मिल्दैन। आरोप लगाउन पाइयो भन्दैमा चरित्र हत्या गर्न पाइँदैन।’

गृहमन्त्री गुरुङले उक्त घटनाप्रति गृह मन्त्रालय खुसी नरहेको समेत बताए।

उनले आइजिपी कार्कीको काम आफूले प्रत्यक्ष रूपमा देखिरहेको उल्लेख गर्दै गृह मन्त्रालयको निर्देशनअनुसार उनी दिनरात खटिरहेको दाबी गरे।

सार्वजनिक लेखा समितिमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले गृहसचिव र आइजिपीमाथि गरेको व्यवहारलाई लिएर आलोचना भइरहेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖