• Monday 5th of October 2026

कांग्रेसको इतर समूहको भेलामा धर्मको विषयमा निधि र महतबीच विवाद, ‘कागज खोसाखोस’


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय भेलाको समापन समारोहमा धर्मसम्बन्धी विषयलाई लिएर शीर्ष नेताहरूबीच सार्वजनिक रूपमै विवाद भएको छ।

सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा भइरहेको समापन समारोहमा भेलाबाट पारित निर्णयहरू वाचन गर्ने क्रममा पूर्वउपसभापति विमलेन्द्र निधि र निवर्तमान प्रवक्ता डा. प्रकाशशरण महतबीच भनाभन भएको हो। विवाद बढ्दै गएपछि दुवै नेताले निर्णय लेखिएको कागज एकअर्काबाट खोसाखोस गरेका थिए।

विवादको मुख्य कारण भेलाको प्रस्तावमा समेटिएको धर्मसम्बन्धी वाक्य रहेको बताइएको छ। डा. महतले निर्णयको मस्यौदामा ‘सनातनदेखि मानिँदै आएका धर्महरू मान्न सबैलाई स्वतन्त्र हुने’ भन्ने वाक्य राखेका थिए।

तर, निधिले उक्त शब्दावलीमा असहमति जनाउँदै त्यसलाई परिमार्जन गरेर ‘धार्मिक स्वतन्त्रता’ मात्र उल्लेख गर्नुपर्ने अडान लिएका थिए। यही विषयमा कुरा नमिलेपछि कार्यक्रमको प्रत्यक्ष प्रसारण भइरहेकै समयमा दुई नेताबीच केहीबेर विवाद भएको थियो।

मञ्चमै दुई नेताबीच खोसाखोस र विवाद भएपछि निवर्तमान सभापति शेरबहादुर देउवाले हस्तक्षेप गरेका थिए। देउवाको निर्देशनपछि डा. महतले तयार पारेको ‘सनातनदेखि मानिँदै आएका धर्महरू मान्न सबै स्वतन्त्र हुने’ भन्ने बुँदा नै वाचन गरिएको थियो।

देउवाले यसअघि आफ्नो सम्बोधनका क्रममा आफू व्यक्तिगत रूपमा हिन्दु भएको र सनातन धर्म मान्ने भए पनि सबै धर्मको सम्मान गर्ने धारणा राखेका थिए। धर्मसम्बन्धी आफ्नो भनाइबारे देउवाले पछि स्पष्टीकरणसमेत दिएका थिए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖