काठमाडौं । सुदूरपश्चिम भ्रमणमा रहेका भौतिक पूर्वाधारमन्त्री सुनील लम्साल बिरामी परेका छन्। शनिबार बिहानदेखि ज्वरो आएपछि उनको स्वास्थ्य परीक्षण गरिएको हो।
बैतडीको गोठालापानी पुगेका बेला अचानक अस्वस्थ भएका मन्त्री लम्साललाई जिल्ला अस्पताल बैतडीका चिकित्सकले स्वास्थ्य परीक्षण गरेका थिए। चिकित्सकका अनुसार उनलाई सामान्य भाइरल ज्वरो र रुघाखोकीको समस्या देखिएको छ।
जिल्ला अस्पताल बैतडीका एमडीजीपी डा. पविन उपाध्यायले शनिबार बिहान मन्त्री लम्सालको स्वास्थ्य परीक्षण गरेका थिए।
मन्त्री लम्सालसँगै रहेका सचिवालयका एक सदस्यका अनुसार उनलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ। मौसमको अवस्था हेरेर हेलिकप्टर आउने विषय टुंगो लाग्ने बैतडीकी प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिएकी छन्।
स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री लम्सालका बझाङ जानेलगायतका निर्धारित कार्यक्रम प्रभावित भएका छन्।
शुक्रबार धनगढी पुगेका मन्त्री लम्सालले डोटीको बीपीनगर पुगेर धनगढी–दिपायल द्रुतमार्गको अवलोकन गरेका थिए। त्यसपछि दार्चुला पुगेर महाकाली करिडोर तथा जिल्ला अस्पतालको भौतिक संरचनाको निरीक्षण गरेका थिए।
दार्चुलाबाट शनिबार अबेर साँझ आफैं गाडी चलाएर बैतडी पुगेका मन्त्री लम्साललाई त्यहाँ पुगेपछि स्वास्थ्यमा समस्या देखिएको बताइएको छ। अहिले उनी होटलमै आराम गरिरहेका छन्।
