गोरखा । गृहमन्त्री सुधन गुरुङले आफ्नो निर्वाचन क्षेत्र गोरखा–१ का विभिन्न गाउँमा पुगेर स्थानीयका गुनासा र समस्या सुन्दै आएका छन्। यसै क्रममा आइतबार साँझ सहिद लखन गाउँपालिका–९ नाम्जुङमा आयोजित छलफलमा उनले दिएको अभिव्यक्ति अहिले चर्चामा आएको छ।
स्थानीयले चुनावका बेला स्वास्थ्य चौकीमा ल्याब सञ्चालनका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएको स्मरण गराउँदै त्यसको बजेट खोइ भन्दै गृहमन्त्रीसँग प्रश्न गरेका थिए।
एक स्थानीयले चुनावका बेला आफूले स्वास्थ्य मन्त्रालयका सचिवलाई समेत फोन गरेर आगामी बजेटमा ल्याबका लागि बजेट व्यवस्था गर्ने प्रतिबद्धता जनाएको स्मरण गराए।
जवाफमा गृहमन्त्री गुरुङले साना–साना बजेट तथा कार्यक्रमसमेत बजेट पुस्तिकामा राख्दै जाने हो भने बजेटको किताब ‘महाभारतजत्रो’ हुने टिप्पणी गरे। उनले उक्त कार्यक्रम बजेटमा समावेश भए/नभएकोबारे सम्बन्धित मन्त्रालयसँग सूची मागेको बताए।
गृहमन्त्री गुरुङले स्थानीयलाई सम्बोधन गर्दै भने, ‘तपाईंलाई काम भए पुग्ने होइन र? चार महिनामा म कायापलट गर्न चाहिँ सक्दिनँ। भोट लिएर जानुस् फिर्ता।’
उनको भनाइपछि छलफलमा सहभागीहरू हाँसेका थिए। त्यसपछि एक स्थानीयले व्यंग्य गर्दै भने, ‘अब जिताएर पठाइहालियो, कहाँबाट भोट फिर्ता ल्याउने? पहिल्यै भन्नुपर्थ्यो नि हजुरले।’
गृहमन्त्री गुरुङले आफू स्पष्ट कुरा गर्ने व्यक्ति भएको भन्दै पाँच वर्ष काम गर्न दिन आग्रह गरे। उनले भने, ‘मलाई ५ वर्ष हेर्नुस्, काम गर्न दिनुस्, चित्त बुझेन भने अर्को पटक मलाई नजिताउनुस्।’
चार महिनामात्रै सरकारमा आएर करिब १५/२० दिनदेखि बजेट सञ्चालन गर्न पाएको अवस्थामा तत्कालै सबै काम सम्पन्न गर्न नसकिने उनको भनाइ थियो।
ल्याब सञ्चालनका लागि सामान मात्रै खरिद गरेर नहुने भन्दै गृहमन्त्री गुरुङले आवश्यक कर्मचारी दरबन्दीसमेत व्यवस्थापन गर्नुपर्ने बताए। दरबन्दी सिर्जनाका लागि अर्थ मन्त्रालयको सहमति आवश्यक पर्ने र कानुनी प्रक्रिया पूरा गर्न समय लाग्ने उनले स्पष्ट पारे।
