• Monday 5th of October 2026

उपसभामुख रुबी ठाकुरद्वारा पत्रकार किशोर श्रेष्ठविरुद्ध जाहेरी


  • धनकुटा खबर
  • .

काठमाडौं । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी छन्।

ठाकुरले सोमबार श्रेष्ठविरुद्ध विद्युतीय कसुर ऐन, २०६३ अन्तर्गत अनुसन्धान तथा कारबाहीको माग गर्दै जाहेरी दिएको ललितपुरका एसएसपी तुलबहादुर कार्कीले पुष्टि गरेका छन्।

एसएसपी कार्कीले जाहेरी प्राप्त भएको र त्यसबारे अध्ययन भइरहेको जानकारी दिए। उनले भने, ‘जाहेरी आएको छ, हामी अध्ययन गर्दैछौँ।’

उपसभामुख ठाकुरविरुद्ध जनआस्था डटकममा केही दिनअघि प्रकाशित सामग्रीले आफ्नो चरित्र, प्रतिष्ठा र सामाजिक मर्यादामा आँच पुर्‍याएको दाबी गर्दै उनले श्रेष्ठमाथि कारबाहीको माग गरेकी हुन्।

यसअघि बुधबार साँझ पक्राउ परेका किशोर श्रेष्ठलाई सर्वोच्च अदालतले सोमबार रिहा गर्न आदेश दिएको थियो। उनीविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा अनुसन्धान भइरहेको थियो।

साउन २५ गते जनआस्था डटकममा सप्तरी क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद अमरकान्त चौधरीसँग सम्बन्धित सामग्री प्रकाशित भएको थियो। उक्त सामग्रीमा एक युवतीको तस्बिरसमेत सार्वजनिक गरिएको थियो।

सोही प्रकरणमा एक महिलाले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले श्रेष्ठलाई रिहा गर्न आदेश दिएको हो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖