काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’का ज्वाइँ जीवन आचार्य कोशी प्रदेश सरकारमा तेस्रोपटक मन्त्री बनेका छन्।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार मन्त्रिपरिषद् पुनर्गठन गर्दै आचार्यलाई भौतिक पूर्वाधार विकासमन्त्रीको जिम्मेवारी दिएका हुन्। यससँगै उनी कोशी प्रदेशमा तीनपटक मन्त्री बन्ने नेताको सूचीमा परेका छन्।
आचार्य पहिलोपटक २०७९ पुस २९ गते हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा मन्त्री बनेका थिए। त्यतिबेला उनलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो।
केन्द्रमा एमाले–माओवादी गठबन्धन टुटेपछि कोशी प्रदेशको सत्ता समीकरण पनि परिवर्तन भयो। कांग्रेसका उद्धव थापा मुख्यमन्त्री बनेपछि २०८० असार २४ गते आचार्यलाई दोस्रोपटक मन्त्री बनाइएको थियो। त्यसपटक उनले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका थिए।
सत्ता समीकरण फेरिएसँगै पटक–पटक मन्त्री बन्ने अवसर पाएपछि आचार्यको राजनीतिक नियुक्तिलाई लिएर पार्टीभित्र तथा बाहिर आलोचनासमेत हुँदै आएको थियो। उनी प्रचण्डकी कान्छी छोरी गंगा दाहालका श्रीमान् हुन्।
पछिल्लो समय एमाले–कांग्रेसबीचको सत्ता सहकार्यमा परिवर्तन आएपछि कोशी प्रदेशमा पनि मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक प्रचण्डबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति बनेपछि मुख्यमन्त्री कार्कीले नेकपाका चार सांसदलाई सरकारमा सहभागी गराएका हुन्।
सोही क्रममा आचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको हो। आचार्य मोरङ–६ (१) बाट निर्वाचित प्रदेश सांसद हुन्।
