• Monday 5th of October 2026

‘३७ दिनको धैर्यता मर्यादाभित्र पर्दैन र?’ भन्दै सभामुखसँगै आशिका तामाङको प्रश्न


  • धनकुटा खबर
  • .

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले जनताको समस्या समाधानका लागि आफूले ३७ दिनसम्म धैर्य गर्दा पनि ‘मर्यादामा बस्न’ भनिएको भन्दै सभामुख डोलप्रसाद अर्यालप्रति असन्तुष्टि जनाएकी छन्।

विदेशमा मृत्यु भएका नेपालीको शव स्वदेश ल्याउन सरकारले ढिलाइ गरेको विषय सदनमा उठाउँदै तामाङले ‘३७ दिनको धैर्यता र सहनशीलता मर्यादाभित्र पर्दैन र?’ भन्दै प्रश्न गरिन्।

धादिङका सन्तोष राईको शव कम्बोडियाबाट नेपाल ल्याउन आफूले निरन्तर पहल गरे पनि समस्या समाधान नभएको उनको भनाइ छ। पीडित परिवारका सदस्यलाई लिएर मन्त्रालय, प्रधानमन्त्रीको सचिवालय तथा सम्बन्धित निकायसम्म धाउँदा पनि काम अघि नबढेको उनले बताइन्।

‘टाउको हल्लाएर बस्नु मात्रै मर्यादा होइन’

सभामुखले भनेका हरेक कुरा स्वीकार गर्दै चुप लागेर बस्नु मात्रै सांसदको मर्यादा नभएको तामाङले बताइन्।

जनताको समस्या समाधानमा ढिलाइ हुँदा सदनमार्फत सरकारसँग जवाफ माग्नु सांसदको जिम्मेवारी भएको उनको भनाइ थियो।

उनले विगतमा सभामुखको आलोचना हुँदा नियमापत्ति गर्दै सभामुखकै पक्षमा आफूले आवाज उठाएको स्मरण गराइन्। तर अहिले जनताको मुद्दामा सरकारबाट काम नभएपछि सभामुखमार्फत जवाफ खोज्दा आफूलाई मर्यादाको पाठ पढाइएको भन्दै उनले असन्तुष्टि जनाइन्।

शव ल्याउन सरकारलाई तीन दिनको समय

विदेशमा अलपत्र नेपालीका शव स्वदेश ल्याउन अर्थ मन्त्रालयले बजेट विनियोजन गरे पनि आवश्यक कार्यविधि नबन्दा समस्या भइरहेको विषय तामाङले पटक–पटक सदनमा उठाउँदै आएकी छन्।

उनको निरन्तर दबाबपछि सभामुख डोलप्रसाद अर्यालले आशिका तामाङ र सांसद गोपाल शर्माले उठाएका विषयमा तीन दिनभित्र जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖