काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद ज्वाला सङ्ग्रौलाको अभिव्यक्तिलाई लिएर मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा चर्को हङ्गामा भएको छ।
बैठकमा बोल्दै सांसद सङ्ग्रौलाले विगतमा ३५ वर्ष शासन गरेका दल तथा नेताहरूका कारण गत भदौमा जेनजी आन्दोलन भएको टिप्पणी गरिन्। आन्दोलनमा ज्यान गुमाएकाहरूको परिवार अझै शोकमा रहेका बेला विपक्षी सांसदहरूले वर्तमान सरकारमाथि प्रश्न उठाइरहेको भन्दै उनले आपत्ति जनाइन्।
‘भदौको आन्दोलनबाट मारिएका परिवार सेतो कपडा लगाएर बरखी बारेर बसिरहेका छन्। कुन हिम्मतले हामी शासन चलाउँछौँ भनेर भनिरहनुभएको छ?’ भन्दै उनले विपक्षी सांसदहरूमाथि प्रश्न गरिन्।
सङ्ग्रौलाको अभिव्यक्तिपछि विपक्षी बेन्चका सांसदहरू उठेर विरोध जनाएका थिए। नेकपा (एमाले) की सांसद साजिदा सिद्दीकीले प्रतिवाद गर्दै वर्तमान सरकारले मुलुकमा ‘गुण्डाराज’ चलाएको आरोप लगाइन्।
प्रतिपक्षले सरकारलाई प्रश्न गर्दा सत्तापक्षले ‘गुण्डाराज’ भनेको भन्दै सिद्दीकीले आपत्ति जनाइन्। देश र जनताको पक्षमा उभिँदा गोली खानुपरे पनि प्रतिपक्ष पछि नहट्ने बताउँदै उनले जेनजी आन्दोलनको कुरा गर्नेहरूले सिरहामा सरकारले चलाएको गोलीबारे पनि जवाफ दिनुपर्ने माग गरिन्।
सिद्दीकीको भनाइपछि सङ्ग्रौलाले पुनः प्रतिवाद गर्दै उनको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरिन्।
दुवै पक्षका सांसदबीच भनाभन र आरोप–प्रत्यारोप बढेपछि प्रतिनिधि सभा बैठकमा केहीबेर चर्को होहल्ला भएको थियो।
