• Monday 5th of October 2026

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न अदालतले दिएन अनुमति


  • धनकुटा खबर
  • .

काठमाडौँ । पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न जिल्ला अदालत, ललितपुरले अनुमति दिन अस्वीकार गरेको छ।

उपसभामुख रुबीकुमारी ठाकुरको उजुरीका आधारमा जिल्ला प्रहरी परिसर, ललितपुरको टोली सोमबार श्रेष्ठविरुद्ध पक्राउ पुर्जी लिन अदालत पुगेको थियो। तर, अदालतले पक्राउ पुर्जी जारी गर्न अस्वीकार गरेको हो।

उपसभामुख ठाकुरले सोमबार नै श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी थिइन्। जनआस्थाको फेसबुक पेज तथा अनलाइनमा आफ्नो व्यक्तिगत तस्बिर, मर्यादा र संवैधानिक ओजमा आँच पुर्‍याउने तथा व्यक्तिगत चरित्र र प्रतिष्ठामा गम्भीर क्षति पुर्‍याउने नियतले भ्रामक, असत्य र निन्दनीय सामग्री प्रकाशित गरेको उनको आरोप छ।

जाहेरीमा प्रकाशित सामग्रीका कारण आफ्नो व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवनमा गहिरो चोट पुगेको उल्लेख गरिएको छ। समाचारमा जोडिएका पुरुष आफूले रक्षाबन्धन बाँधेका दाजु रहेको दाबी गर्दै उनीसँग अनैतिक सम्बन्ध रहेको आरोप लगाएर आफ्नो चरित्र हत्या गर्न खोजिएको ठाकुरको आरोप छ।

यसअघि अर्की युवतीसँग रास्वपा सांसदलाई जोडेर समाचार प्रकाशित गरेको विषयमा पनि श्रेष्ठ पक्राउ परेका थिए। वैयक्तिक गोपनीयता हननको आरोपमा पक्राउ परेका श्रेष्ठलाई सोमबार नै सर्वोच्च अदालतले हिरासतमुक्त गर्न आदेश दिएको थियो।

सर्वोच्चको आदेशपछि रिहा भएका श्रेष्ठलाई उपसभामुख ठाकुरको नयाँ जाहेरीका आधारमा पुनः पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको भए पनि जिल्ला अदालत ललितपुरले पक्राउ पुर्जी जारी गर्न अनुमति नदिएको हो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖