काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न ‘क्यान्डिडेट क्लब’ घोषणा गरेको छ।
सोमबार पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा क्यान्डिडेट क्लब घोषणा गरिएको हो। क्लब घोषणासँगै रास्वपाले पहिलो चरणमा ४६० गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, ३ हजार ६८५ वडाध्यक्ष र १४ हजार ७४० वडा सदस्य पदका लागि आवेदन आह्वान गरेको छ।
तर ६ महानगरपालिका, ११ उपमहानगरपालिका र २७६ नगरपालिकाका प्रमुख/उपप्रमुख तथा नगर क्षेत्रका वडाध्यक्ष र वडा सदस्यका लागि भने तत्काल आवेदन खुलाइएको छैन। पार्टीका महामन्त्री विपिन कुमार आचार्यका अनुसार स्थानीय तहमा ठूलो संख्यामा उम्मेदवार हुने भएकाले चरणबद्ध रूपमा छनोट प्रक्रिया अघि बढाउन लागिएको हो।
रास्वपाले यसअघि नै स्थानीय तह निर्वाचनको तयारी थालेको थियो। साउन १३ गते बसेको केन्द्रीय समिति बैठकले भदौ १ गतेदेखि उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि क्यान्डिडेट क्लबमार्फत आवेदन आह्वान गर्ने निर्णय गरेको थियो।
क्यान्डिडेट क्लबको आवेदन प्रक्रिया सुरु गर्दै सभापति रवि लामिछानेले पावर, पहुँच र पैसाको बलमा उम्मेदवार बन्न खोज्नेहरूको उम्मेदवारी स्वीकार नगरिने बताएका छन्।
उनले पार्टीभित्र अब कुनै गुट वा उपगुट नरहेको दाबी गर्दै महाधिवेशनपछि समायोजनको काम पूरा भएको बताए। ‘एउटा रास्वपा, एउटा घण्टी’ भन्दै लामिछानेले उम्मेदवार छनोटमा पार्टीको विधि र प्रक्रियालाई प्राथमिकता दिने संकेत गरेका छन्।
महामन्त्री आचार्यले विगतमा उम्मेदवार छनोटका क्रममा भएका कमजोरी अब नदोहोरिने दाबी गरे। उनका अनुसार बाँकी नगरपालिकाका लागि पनि छिट्टै उम्मेदवार आह्वान गरिनेछ।
रास्वपाले उम्मेदवार छनोटका लागि महामन्त्री आचार्यको संयोजकत्वमा कार्यदलसमेत गठन गरेको छ। पार्टीको विधानअनुसार आवश्यक अवस्थामा १५ प्रतिशतसम्म उम्मेदवार केन्द्रीय समितिले छनोट गर्न सक्ने व्यवस्था भने यथावत् रहेको आचार्यले बताएका छन्।
यसअघि रास्वपाले विभिन्न निर्वाचनमा क्यान्डिडेट क्लब, लिडरशिप एकेडेमी तथा प्राइमरी इलेक्सनजस्ता विधि प्रयोग गर्ने प्रयास गरेको थियो। तर उम्मेदवार छनोट प्रक्रिया पारदर्शी नभएको तथा लोकप्रिय मत पाएका उम्मेदवारलाई पाखा लगाइएको भन्दै पार्टीभित्रै आलोचना र असन्तुष्टि देखिएको थियो।
यसपटक भने रास्वपाले क्यान्डिडेट क्लबमार्फत स्थानीय तहका उम्मेदवार छनोट गर्ने प्रक्रिया अघि बढाएको हो।
