• Monday 5th of October 2026

देउवालाई प्रचण्डको चेतावनी : ‘संविधानभन्दा बाहिर गए देश दुर्घटनामा पर्न सक्छ’


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको मर्मविपरीत अभिव्यक्ति तथा गतिविधि नगर्न पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई चेतावनी दिएका छन्।

मंगलबार नेकपा बागमती प्रदेश समितिको एकता बैठकलाई सम्बोधन गर्दै प्रचण्डले देउवाको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्।

देउवाले आइतबार इतर समूहले आयोजना गरेको भेलाको समापन गर्दै आफू हिन्दु भएको अभिव्यक्ति दिएका थिए। उक्त भेलाले संविधानको मर्मविपरीत हिन्दु धर्मको पक्षपोषण हुने गरी पाँचबुँदे निर्णयसमेत गरेको थियो।

देउवाको अभिव्यक्ति र भेलाको निर्णयतर्फ संकेत गर्दै प्रचण्डले संविधानविरोधी गतिविधि नगर्न सचेत गराएको पार्टी नेता हिमाल शर्माले जानकारी दिए।

शर्माका अनुसार प्रचण्डले बैठकमा भने, ‘संविधानभन्दा दायाँबायाँ लाग्नुभयो भने तपाईं आफैँ सकिनुहुन्छ र देश पनि दुर्घटनामा पर्छ। आफैँले बनाएको संविधानविपरीत निर्णय र अभिव्यक्ति नदिनुहोला।’

सरकारविरुद्ध आन्दोलनको तयारी गर्न अपिल

सम्बोधनका क्रममा प्रचण्डले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार संविधान, लोकतन्त्र र राजनीतिक व्यवस्थाविपरीत अघि बढिरहेको आरोप लगाए। उनले सरकारविरुद्ध सडक आन्दोलनका लागि तयार रहन पार्टीका नेता तथा कार्यकर्तालाई अपिलसमेत गरे।

सरकार बनेपछि बेथिति र भ्रष्टाचार बढेको तथा सञ्चारमाध्यममाथि प्रहार गरी आवाज दबाउने प्रयास भइरहेको उनको आरोप थियो।

प्रचण्डले भने, ‘रास्वपाको सरकार बनेपछि बेथिति धेरै बढे, हामीले आवश्यकताभन्दा बढी प्रिभिलेज दियौँ। भ्रष्टाचार बढ्दै गयो, मिडियाको मुख थुन्ने काम भयो।’

उनले यस्ता गतिविधिविरुद्ध अब आवाज उठाउनुपर्ने भन्दै गणतन्त्रमाथि नै प्रहार हुन सक्ने चेतावनी दिए। साथै, नेकपाले छिट्टै आन्दोलनको अपिल गर्ने र त्यसका लागि सबैलाई तयारी अवस्थामा रहन आग्रह गरे।

एमालेसँग तत्काल पार्टी एकता नहुने

प्रचण्डले नेकपा (एमाले) सँग भएको तीनबुँदे सहमतिले वामपन्थी शक्तिबीच सहकार्यको ढोका खोले पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रवृत्ति यथावत् रहेसम्म तत्काल पार्टी एकता सम्भव नरहेको स्पष्ट पारे।

उनका अनुसार दीर्घकालीन रूपमा वामपन्थी एकताको पक्षमा नेकपा रहे पनि अहिलेका लागि तीनबुँदे सहमति कार्यान्वयन गर्दै अघि बढ्नुको विकल्प छैन।

‘एमालेसँग भएको तीनबुँदे सहमतिले सहकार्यको ढोका खुलेको छ। तर, उहाँ (ओली) को प्रवृत्ति नहटेसम्म एकता हुँदैन। हामी दीर्घकालीन रूपमा एकता गर्ने पक्षमै छौँ,’ प्रचण्डले भने।

वामपन्थी शक्ति एकजुट हुनुपर्नेमा जोड

बैठकमा पार्टीका सहसंयोजक माधवकुमार नेपालले देश गम्भीर मोडमा रहेकाले लोकतान्त्रिक–गणतन्त्र पक्षधर सम्पूर्ण शक्ति एकजुट भएर अघि बढ्नुपर्ने बताए। उनले एमालेसँग भएको तीनबुँदे सहमतिकै आधारमा तत्काल पार्टी एकता भइहाल्छ भन्ने भ्रममा नपर्न आग्रह गरे।

वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भने एमालेसहितको बृहत् वामपन्थी एकताका लागि नेकपाले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए। उनले वामपन्थी शक्तिबीच सहकार्य, एकता र ध्रुवीकरणका लागि सकारात्मक सहजीकरण गर्न सबै पक्षलाई आग्रह गरे।

बैठकमा बागमती प्रदेश संयोजक सरलसहयात्री पौडेलले पार्टी संगठनको अवस्थाबारे रिपोर्टिङ गरेका थिए। विभिन्न वामपन्थी घटकबीचको एकतापछि संगठन भद्दा र भद्रगोल देखिएको भन्दै उनले आगामी अधिवेशनबाट सानो, चुस्त र प्रभावकारी संगठन निर्माण गरेर अघि बढ्नुपर्ने सुझाव दिएका थिए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖