• Monday 5th of October 2026

कतार एयरवेजको विमानमा तातो कफी पोखिएर घाइते नेपाली यात्रुलाई २ करोड ६१ लाख क्षतिपूर्ति


  • धनकुटा खबर
  • .

काठमाडौँ । उपभोक्ता अदालतले कतार एयरवेजको विमानभित्र तातो कफी पोखिएर घाइते भएकी नेपाली यात्रु प्रिती थापालाई २ करोड ६१ लाख ९२ हजार ४०६ रुपैयाँ क्षतिपूर्ति दिलाउने फैसला गरेको छ।

अदालतका अध्यक्ष डा. दिवाकर भट्ट तथा सदस्यहरू गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले ललितपुर महानगरपालिका–२ की थापाको पक्षमा फैसला सुनाएको हो।

सन् २०२३ जुलाई १० मा अमेरिकाको बोस्टनबाट दोहा हुँदै काठमाडौँ आउने क्रममा कतार एयरवेजको उडान नम्बर QR 744 मा उक्त घटना भएको थियो। उडानका क्रममा क्याबिन क्रुले दिएको अत्यधिक तातो कफी थापाको तिघ्रा तथा शरीरका संवेदनशील भागमा पोखिँदा उनलाई दोस्रो तहको जलन भएको थियो।

थापाले विमानभित्र प्राथमिक उपचारको पर्याप्त व्यवस्था नभएको, अत्यधिक तातो कफी सर्भ गरिएको तथा कर्मचारीको लापरबाहीका कारण आफूले शारीरिक र मानसिक पीडा भोग्नुपरेको भन्दै क्षतिपूर्तिको मागसहित उपभोक्ता अदालतमा मुद्दा दायर गरेकी थिइन्।

अदालतले अन्तर्राष्ट्रिय हवाई परिवहनसम्बन्धी ‘मोन्ट्रियल महासन्धि, १९९९’ र नेपालको ‘उपभोक्ता संरक्षण ऐन, २०७५’ लाई फैसलाको मुख्य आधार बनाएको छ। महासन्धिको धारा १७ र २१ अनुसार विमानभित्र वा विमानमा चढ्ने–ओर्लने क्रममा यात्रुलाई शारीरिक चोट पुगेमा त्यसको जिम्मेवारी विमान कम्पनीले लिनुपर्ने अदालतको ठहर छ।

अदालतका अनुसार कतार एयरवेजले ७० देखि ८० डिग्री सेल्सियस तापक्रमको कफी सर्भ गरेको स्वीकार गरेको थियो। कफीको कपमा बिर्को नराखिएको तथा आवश्यक सावधानीका संकेतसमेत नअपनाइएको कारण दुर्घटना भएको अदालतले जनाएको छ।

विमान कम्पनीले यात्रु आफैँले कफी पोखाएको र कर्मचारीको कुनै गल्ती नभएको जिकिर गरेको थियो। तर, अदालतले उक्त दाबी अस्वीकार गर्दै विमानभित्र यात्रुलाई भएको यस्तो क्षतिमा कम्पनीको दायित्व रहने ठहर गरेको छ।

उपभोक्ता अदालत गठन भएपछि भएको यो फैसला ठूलो बिगोसम्बन्धी फैसलाका रूपमा आएको छ। साथै, अन्तर्राष्ट्रिय हवाई परिवहनसम्बन्धी महासन्धिको व्याख्या गर्दै नेपाली उपभोक्ताको पक्षमा फैसला भएकोले यसलाई महत्त्वपूर्ण फैसलाका रूपमा हेरिएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖