• Monday 5th of October 2026

रास्वपा सांसद आशिका तामाङको नियमापत्ति, ‘चिठ्ठामा परेर आएको होइन, जनताको मतबाट निर्वाचित भएका हौँ’


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले नेकपा एमालेकी सांसद साजिता सिद्धिकीको अभिव्यक्तिप्रति नियमापत्ति जनाएकी छन्।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा सांसद सिद्धिकीले रास्वपाका सांसदहरू ‘चिठ्ठामा परेर संसद्मा आएको’ भन्दै टिप्पणी गरेपछि तामाङले उठेर नियमापत्ति जनाएकी हुन्।

तामाङले आफूहरू कुनै संयोग वा चिठ्ठाबाट नभई जनताको अमूल्य मतबाट निर्वाचित भएर संसद्मा आएको बताइन्।

‘चिठ्ठामा परेर आएको भन्नुभयो, तर तपाईंहरूजस्तै हामीलाई पनि जनताले जिताएर पठाएको हो,’ उनले भनिन्, ‘हामी यसरी अपमानजनक शब्द सुन्न यहाँ आएका होइनौँ।’

उनले संसद्मा बोल्दा तथ्य र प्रमाणका आधारमा बोल्न आग्रह गर्दै आफूहरू चिठ्ठाबाट आएको भन्ने दाबीको प्रमाण माग गरिन्।

‘हामी चिठ्ठाबाट आएको भन्ने कुराको प्रमाण के हो? हामीलाई प्रमाण चाहियो,’ तामाङले प्रश्न गरिन्।

सांसद तामाङले ‘चिठ्ठामा परेर आएको’ भन्ने शब्द असंसदीय तथा अपमानजनक भएको दाबी गर्दै उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखसँग मागसमेत गरिन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖