काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्वतन्त्रता र संवैधानिक मर्यादा कायम राख्न आग्रह गरेका छन्।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सिंहले संसदीय समिति ओभरसाइट निकाय भएकाले अख्तियारका पदाधिकारी समितिमा उपस्थित हुनु स्वाभाविक भए पनि प्रधानमन्त्री वा मन्त्रीले बोलाउँदैमा उनीहरू मातहतको निकायजस्तो भएर जान नहुने बताए।
उनले अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा नभएको भन्दै आयोगले आफ्नो संवैधानिक हैसियत र निर्णय गर्ने आँट कायम राख्नुपर्ने धारणा राखे।
पूर्वप्रधानमन्त्रीहरूले अख्तियारका प्रमुखलाई आफूअनुकूल काम गरिदिन तथा संसदीय सुनुवाइ पारित गराइदिन आग्रह गर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै सिंहले यस्तो परिपाटी अन्त्य हुनुपर्ने बताए।
सिंहले अख्तियारको कार्यशैलीमाथि समेत प्रश्न उठाउँदै साना व्यापारी तथा सर्वसाधारणलाई दुःख दिने तर ठूला भ्रष्टाचारका घटनामा मौन रहने प्रवृत्ति देखिन नहुने बताए।
