हेटौँडा । बागमती प्रदेश सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन मन्त्रीसँग पार्टीको केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण मागेको छ । पार्टीको निर्णय र निर्देशन विपरीत मन्त्री पदको शपथ लिएको भन्दै अनुशासन समितिले १२ घण्टाभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको हो ।
राप्रपाका केन्द्रीय प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त जानकारी सार्वजनिक गरेका हुन् । उनका अनुसार स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङ, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री राजु विष्ट तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापतिसँग पार्टीको निर्देशन विपरीत सरकारमा सहभागी भएको विषयमा स्पष्टीकरण मागिएको हो ।
यसअघि राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिले यसअघि बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले पार्टीको आधिकारिक निर्णयबिनै आफ्नै निजी लेटर प्याड प्रयोग गरी एमाले नेतृत्वको सरकारलाई समर्थन दिएको ठहर गर्दै उनको पार्टी सदस्यता निलम्बन गर्नुका साथै प्रदेशसभा सदस्यबाट पदमुक्त गर्न सिफारिस गरिसकेको छ ।
उक्त विषय जानकारी हुँदाहुँदै पनि पार्टीको निर्देशन उल्लङ्घन गर्दै तीन जना प्रदेशसभा सदस्यले बागमती प्रदेश सरकारमा मन्त्रीका रूपमा शपथ लिएको निष्कर्षसहित अनुशासन समितिले उनीहरूमाथि पनि कारबाही प्रक्रिया अघि बढाएको प्रवक्ता श्रेष्ठले उल्लेख गरेका छन् ।
यसअघि राप्रपाको केन्द्रीय नेतृत्वले बागमती प्रदेश सरकार गठनमा पार्टी सहभागी नहुने र सरकारको समर्थन वा विरोध कुनै पनि पक्षमा नलाग्ने निर्णय गरेको दाबी गर्दै आएको छ । तर प्रदेश संसदीय दलका नेता उद्धव थापाले एमाले नेतृत्वको सरकारलाई समर्थन जनाएपछि पार्टीभित्र तीव्र विवाद उत्पन्न भएको थियो ।
उक्त विवादकै बिच एमालेका किरण थापा मगर बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । त्यसपछि राप्रपाबाट तीन जना मन्त्री सरकारमा सहभागी भएपछि पार्टीभित्रको विवाद थप चर्किएको छ।
