• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

यूएस ओपनमा १०८ मिलियन डलरको पुरस्कार, टेनिस इतिहासमै सबैभन्दा ठूलो राशि


  • धनकुटा खबर
  • .

काठमाडौं, ६ भदौं । वर्षको अन्तिम ग्रान्ड स्लाम प्रतियोगिता ‘यूएस ओपन’ ले टेनिस इतिहासमै सर्वाधिक पुरस्कार राशि घोषणा गरेर नयाँ कीर्तिमान कायम गरेको छ।

 

यु एस ओपनले २०२६ का लागि १०८ मिलियन डलरको कीर्तिमानी पुरस्कार राशि घोषणा गर्दै ‘ग्रान्ड स्लाम’को इतिहासमा सबैभन्दा ठूलो पुरस्कार राशिको कीर्तिमान कायम गर्न लागेको छ, यो कुल रकम गत वर्षको पुरस्कार राशिभन्दा २० प्रतिशतले बढी हो । र, यो रकम  सन् २०२४ को तुलनामा ४४ प्रतिशतले बढी हो।

 

यसपटक प्रतियोगिताको पुरुष तथा महिला एकल विधाका विजेताहरूलाई ५५ लाख डलरको विशाल तथा कीर्तिमानी पुरस्कार राशि प्रदान गरिनेछ। सन् २०२५ मा उपाधि जितेका कार्लोस अल्काराज र आर्यना साबालेन्काले ५० लाख डलर प्राप्त गरेका थिए, जुन रकममा अहिले उल्लेख्य वृद्धि गरिएको छ। विशेष कुरा त के छ भने प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिने खेलाडी पनि करोडपति बन्ने छन्।

 

१२८ खेलाडीको ‘मेन ड्र’मा सहभागी भई पहिलो चरणमै बाहिरिने प्रत्येक खेलाडीले करिब १ लाख ४० हजार डलर प्राप्त गर्नेछन्। यसैगरी, शीर्ष ८ मा पुग्ने खेलाडीले ७ लाख ८० हजार अमेरिकन डलर कमाउनेछन्।

 

साथै, सेमिफाइनलमा पुग्नेहरूले १४ लाख ५० हजार डलर प्राप्त गर्नेछन्। उपविजेताले २८ लाख डलर पाउनेछन्, जुन विजेतालाई प्रदान गरिने रकमको करिब आधा हिस्सा हो। पुरुष, महिला र मिश्रित युगल स्पर्धाका विजेताहरूले १० लाख डलर प्राप्त गर्नेछन् भने उपविजेता जोडीहरूलाई करिब ४.७ लाख डलर प्राप्त गर्नेछन ।

 

सन् २०२४ को पेरिस पाराओलम्पिक्ससँग समय जुधेका कारण रोकिएका ह्वीलचेयर स्पर्धा सन् २०२५ मा पुनः सुरु भएको थियो  । सन् २०२६ मा यी स्पर्धाका लागि कुल पुरस्कार राशि ४४.३ प्रतिशतले बढेर कीर्तिमानी २३ लाख ९ हजार २ सय अमेरकी डलर पुगेको छ । ह्वीलचेयर एकल स्पर्धाका विजेताहरूले करिब ९९ हजार अमेरिकी डलर प्राप्त गर्नेछन्।

 

यसका साथै, युएसटिएले खेलाडीहरूको हितका लागि २० लाख डलरको विशेष कोष स्थापना गरेको छ, यो रकम पुरुष र महिला खेलाडीहरूबीच समान रूपमा वितरण गरिनेछ र पेन्सनका अतिरिक्त आर्थिक सहयोग पनि प्रदान गर्नेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖