रियाद । क्रिस्टियानो रोनाल्डोले आफ्नो व्यावसायिक खेल जीवनको २५ औँ सिजनको सुरुवात ९७७ औँ गोल गर्दै गरेका छन्।
शुक्रबार साउदी प्रो लिगअन्तर्गत अल रियादविरुद्धको खेलमा बेन्चबाट मैदान प्रवेश गर्दै उनले टोलीलाई ४-० को जित दिलाउन सहयोग गरेका हुन्।
विश्वकप र हालै सम्पन्न विवाहपछि पहिलोपटक अल नासरको टोलीमा फर्किएका रोनाल्डोलाई नयाँ प्रशिक्षक एन्ज पोस्तेकोग्लुले वैकल्पिक खेलाडीका रूपमा मैदान उतारेका थिए। ४१ वर्षीय पोर्चुगिज स्टार मैदान छिर्नुअघि नै अब्दुलेला अल-अम्री, एन्जेलो ग्याब्रिएल र जोआओ फेलिक्सको गोलको मद्दतमा अल नासर ३-० ले अगाडि भइसकेको थियो।
६२ औँ मिनेटमा मैदान प्रवेश गरेका रोनाल्डोले खेल सकिन सात मिनेट बाँकी छँदा गोल गरे। आइमन याह्याको पासलाई नियन्त्रणमा लिँदै उनले आठ यार्डको दूरीबाट उत्कृष्ट गोल गरेका थिए।
यो गोलसँगै रोनाल्डो १,००० गोलको माइलस्टोन नजिक पुगेका छन्। डिसेम्बर २०२२ मा अल नासरमा आबद्ध भएयता सबै प्रतियोगितामा गरी टोलीका लागि यो उनको १३० औँ गोल हो।
यसअघि अल नासरले लिगको पहिलो खेलमा अल फतेह र किङ्स कपमा अल दिरियाविरुद्ध जित निकाल्दा रोनाल्डो टोलीमा समावेश थिएनन्।
