लिस्बन । पोर्चुगलका २५ वर्षिय फुटबलर क्वेभिन क्यास्ट्रोको निधन भएको छ ।
खेल चलिरहेको समयमा उनी मैदानमा ढलेका थिए । शनिबार लिस्बनमा प्री–सिजन फ्रेन्डली म्याच चलिरहँदा यो घटना भएको थियो । यो घटनालगत्तै खेल स्थगित गरिएको थियो । लिस्बन फुटबल संघले उनको मृत्युको पुष्टि गरेको छ । क्यास्ट्रो पोर्चुगलको चौथो डिभिजनको टोली रियल स्पोर्ट क्लबका सदस्य थिए ।
खेल एस्ट्रेला डे अमाडोरा विरुद्ध थियो । खेलको २२ औं मिनेटमा क्यास्ट्रो मैदानमै ढले । उनी ढलेपछि, मेडिकल टोलीले तुरुन्तै उपचार सुरु गरेको थियो । उनलाई अस्पताल लगिएको थियो, जहाँ उनको मृत्यु पुष्टि भयो । केही रिपोर्टहरू अनुसार मैदानमै बिजुलीको झट्का दिएर उनलाई पुनर्जीवित गर्ने प्रयास गरिएको थियो ।
क्यास्ट्रोको पूर्वअंग्रेजी क्लब वेस्ट ब्रोमविच एल्बियनले पनि उनको निधनमा शोक व्यक्त गरेको छ । क्लबले आइतबार बर्नली विरुद्धको खेलको २५ औं मिनेटमा क्यास्ट्रोको सम्झनामा ताली बजाउने घोषणा गरेको छ । खेलाडीहरूले खेलमा कालो हातपट्टी लगाउनेछन् । क्यास्ट्रो २०२१ मा वेस्ट ब्रोमको एकेडेमीमा सामेल भए । त्यही वर्ष उनले आर्सनलविरुद्ध लिग कप खेलमा क्लबको लागि आफ्नो सिनियर डेब्यू गरेका थिए । पछि उनले वेस्ट ब्रोमको लागि लिग खेलहरू खेले । त्यसपछि उनी लोनमा बर्टन एल्बियन, नट्स काउन्टी र गेट्सहेडबाट पनि खेले । उनले २०२३ मा वेस्ट ब्रोम छोडे ।
क्यास्ट्रोले आफ्नो फुटबल करियरको अधिकांश समय इङ्गल्याण्डमा बिताए । क्यास्ट्रो यस सिजनमा पोर्चुगल फर्किए र रियल स्पोर्ट क्लबमा सामेल भएका थिए । शनिबार रियल स्पोर्ट क्लबको प्रतिद्वन्द्वी रहेको एस्त्रेला दा अमाडोराले पनि विज्ञप्ति जारी गर्दै क्यास्ट्रोको निधनप्रति दुःख व्यक्त गरेको छ ।
