• Monday 5th of October 2026

प्रधानमन्त्रीलाई हर्कले सोधे- मुस्ताङमा स्याउ फलेको छैन हाेला, के चाख्न जानुभएको ?


  • धनकुटा खबर
  • .

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहको मुस्ताङ भ्रमणबारे प्रश्न उठाउँदै प्रधानमन्त्री पदमा रहेपछि निजी भ्रमणको अवधारणामाथि प्रश्न गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले प्रधानमन्त्रीको मुस्ताङ भ्रमण व्यक्तिगत नभई सार्वजनिक चासोको विषय भएको बताएका हुन्।

उनले प्रधानमन्त्रीको निजी भ्रमणमा समेत सरकारी सुरक्षा संयन्त्रको प्रयोग हुने भएकाले त्यसबारे संसद् र मन्त्रिपरिषद्लाई जानकारी हुनुपर्ने धारणा राखे।

‘प्रधानमन्त्री आफ्नो निजी भ्रमणमा उता जानुभयो रे भन्ने कुरा आएको छ। प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन,’ साम्पाङले भने, ‘प्रधानमन्त्री एक्लै जानुभएको होइन। उहाँले सरकारी सुरक्षा संयन्त्र पनि आफूसँगै लिएर जानुभएको छ।’

साम्पाङले प्रधानमन्त्रीले मन्त्रिपरिषद् र संसद्लाई जानकारी नदिई मुस्ताङ गएको भन्दै भ्रमणको उद्देश्यबारे सदनमा जवाफ दिनुपर्ने माग गरे।

‘उहाँले मन्त्रिपरिषद्लाई पनि सूचना नदिई, संसद्लाई सूचना नदिई के खान जानुभएको हो ?’ उनले प्रश्न गर्दै भने, ‘हावा थिएन भने काठमाडौंमा हावा छ। मुस्ताङमा स्याउ पनि फलेको छैन होला अहिले। कि के चाख्न जानुभएको हो, त्यो पनि उहाँले भन्नुपर्छ।’

प्रधानमन्त्रीको भ्रमणको उद्देश्य र त्यसमा सरकारी संयन्त्रको प्रयोगबारे स्पष्ट जानकारी संसद्लाई दिनुपर्ने साम्पाङको भनाइ थियो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖