काठमाडौ । बेलायतको डोर्सेटमा आज चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’लाई अन्तिम बिदाइ दिइँदै छ। पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा भएको दुर्घटनामा ज्यान गुमाएका विश्वचर्चित आरोही पुर्जाको अन्त्येष्टि समारोहमा परिवारका सदस्य र निकट आफन्तलाई मात्र सहभागी गराइने भएको छ।
पारिवारिक स्रोतका अनुसार अन्त्येष्टि स्थलको सीमित क्षमता, सुरक्षा व्यवस्था, परिवारको गोपनीयता तथा प्रतिकूल मौसमलाई ध्यानमा राख्दै ठूलो संख्यामा मानिसलाई समारोहमा सहभागी गराउन नसकिने निर्णय गरिएको हो।
निम्सदाइका दाइ कमलबहादुर पुर्जाले मंगलबार जारी गरेको विज्ञप्तिमा यसअघि नाम दर्ता गराएका व्यक्तिहरूलाई मात्र अन्त्येष्टि समारोहमा प्रवेश अनुमति दिइने जानकारी दिएका छन्। परिवारले ज्येष्ठ नागरिक तथा साना बालबालिकालाई समेत समारोहमा उपस्थित नहुन आग्रह गरेको छ।
विश्वका अग्ला हिमालमा नेपाली साहस र पहिचान स्थापित गरेका निम्सदाइको अन्तिम बिदाइमा धेरै शुभेच्छुक तथा नेपाली समुदाय सहभागी हुन चाहेको भए पनि परिवारले परिस्थितिका कारण समारोहलाई सीमित बनाएको जनाएको छ।
अन्त्येष्टि सम्पन्न भएपछि भने निर्मल पुर्जाप्रति सार्वजनिक रूपमा श्रद्धाञ्जली अर्पण गर्न छुट्टै कार्यक्रम आयोजना गरिने भएको छ। उक्त कार्यक्रममा उनका सहकर्मी, शुभेच्छुक, नेपाली समुदाय तथा पर्वतारोहण क्षेत्रमा आबद्ध व्यक्तिहरूले विश्व कीर्तिमानी आरोहीप्रति श्रद्धाञ्जली अर्पण गर्ने अवसर पाउने अपेक्षा गरिएको छ।
पाकिस्तानको काराकोरम हिमशृङ्खलामा रहेको ८ हजार ४७ मिटर अग्लो ब्रोड पिक आरोहणका क्रममा गत जुलाई ३० मा भएको दुर्घटनामा पुर्जासहित ६ जना नेपाली पर्वतारोहीको निधन भएको थियो।
विश्व पर्वतारोहण क्षेत्रमा असाधारण पहिचान बनाएका ‘निम्सदाइ’को निधनले नेपाली मात्र होइन, अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायलाई समेत स्तब्ध बनाएको छ। आज उनको पार्थिव शरीरलाई अन्तिम बिदाइ दिइँदै गर्दा संसारभर रहेका उनका समर्थक, शुभेच्छुक र नेपाली समुदाय भावुक बनेका छन्।
