• Monday 5th of October 2026

रसुवाको टिमुरे गाउँ नै बाढीले बगायो, डेढ सयभन्दा बढी मानिस उकालो लागेर बाँचे


  • धनकुटा खबर
  • .

रसुवा । तिब्बततर्फबाट आएको बाढीले रसुवाको टिमुरे क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीले टिमुरे गाउँ नै बगाएको स्थानीय जनप्रतिनिधिले बताएका छन्।

गोसाइँकुण्ड गाउँपालिकाका कार्यपालिका सदस्य पेमा दोर्जे घलेका अनुसार बाढीले टिमुरेमा रहेका अधिकांश घर बगाएको छ। उनका अनुसार त्यहाँ रहेका कति मानिस बेपत्ता भए भन्ने यकिन हुन सकेको छैन।

‘टिमुरे गाउँ नै बगायो। कति मान्छे बेपत्ता भए थाहा छैन,’ घलेले भने, ‘सग्लो घरहरू एउटै छैनन्। लगभग डेढ सय मानिस उकालो लागेर बाँचेका छौं।’

उनका अनुसार टिमुरेमा करिब एक सयभन्दा बढी घर थिए। बाढीपछि कति मानिस सुरक्षित छन् भन्ने यकिन गर्न सकिने अवस्था छैन।

‘कति बगाए, अहिले केही भन्न सकिएको छैन,’ उनले भने।

बाढीबाट जोगिएर उकालो लागेका मानिसहरूलाई समेत सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था रहेको घलेले बताए।

उनका अनुसार टिमुरेमा कार्यरत नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीसमेत केही मात्रै सम्पर्कमा देखिएका छन्। नेपाली सेनाको हेलिकप्टर घटनास्थलमा पुगेको र बस्तीमा रहेका मानिसहरूको तत्काल खोजी तथा उद्धार गर्नुपर्ने उनले बताएका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖