• Monday 5th of October 2026

रसुवामा कार्यरत १६ जना प्रहरी कर्मचारी सम्पर्कविहीन


  • धनकुटा खबर
  • .

काठमाडौँ । चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलाको बाढी भोटेकोसीमा मिसिँदा रसुवामा ठूलो भौतिक क्षति भएको छ। बाढीले रसुवाको टिमुरे बजार तथा नुवाकोटको त्रिशूली बजारका घरहरू बगाएको छ।

बाढीका कारण रसुवागढी हुँदै टिमुरे क्षेत्रका तीनवटा प्रहरी युनिटमा कार्यरत १६ जना प्रहरी कर्मचारी सम्पर्कविहीन भएका छन्। बागमती प्रदेश प्रहरी कार्यालयका डीआईजी दीपक रेग्मीका अनुसार रसुवागढी प्रहरी चौकी, स्याफ्रुबेशी प्रहरी चौकी र इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत प्रहरीहरू सम्पर्कविहीन भएका हुन्।

रसुवागढी प्रहरी चौकीमा असईको कमान्डमा ९ जना प्रहरी कार्यरत थिए। त्यस्तै, स्याफ्रुबेशी प्रहरी चौकीमा पनि असईको कमान्डमा ९ जना प्रहरी कर्मचारी कार्यरत थिए भने इलाका प्रहरी कार्यालय टिमुरेमा इन्स्पेक्टरको नेतृत्वमा प्रहरी कर्मचारी खटिएका थिए।

डीआईजी रेग्मीका अनुसार सम्पर्कविहीन प्रहरी कर्मचारीहरूले सुरक्षित स्थानतर्फ जाँदा मोबाइल फोन छाडेको हुनसक्ने आशंका गरिएको छ। उनका अनुसार रसुवागढीमा कार्यरत प्रहरीलाई सुरक्षित स्थानतर्फ जान निकै कम समय मिलेको थियो भने स्याफ्रुबेशी र टिमुरेमा खटिएका प्रहरीलाई सुरक्षित स्थानमा जान करिब ७ देखि १० मिनेट समय मिलेको थियो।

बाढीका कारण सो क्षेत्रका तीनवटै प्रहरी कार्यालयमा क्षति पुगेको छ। रसुवागढी प्रहरी चौकीमा कार्यरत प्रहरी कर्मचारीहरू भन्सार क्षेत्रको सुरक्षामा समेत खटिँदै आएका थिए।

डीआईजी रेग्मीले सम्पर्कविहीन प्रहरीहरू सुरक्षित स्थानमा गएर बसेको हुनसक्ने बताएका छन्।

यसैबीच, रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा बाढीका कारण फसेका मानिसहरूको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार भइरहेको छ। उद्धार तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖