काठमाडौँ । रसुवाको टिमुरे क्षेत्रमा आएको बाढीमा परी बगाएका सात जनाको शव फेला परेको छ।
बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायव महानिरीक्षक (डिआइजी) दीपक रेग्मीका अनुसार बुधबार सात जनाको शव फेला परेको हो।
उनका अनुसार नुवाकोटमा तीन जना र धादिङमा चार जनाको शव फेला परेको छ।
बुधबार बिहान करिब ९ बजेतिर रसुवाको टिमुरे क्षेत्रमा तिब्बततर्फबाट भोटेकोशी हुँदै ठूलो बाढी आएको थियो। उक्त बाढी नुवाकोट, धादिङ, चितवनलगायत जिल्लाका नदी तथा तटीय क्षेत्रमा पुगेको छ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ। उद्धार तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
