काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्यलाई तीव्र पारिएको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट हालसम्म १६२ जनाको शव फेला परेको छ। फेला परेका शवमध्ये रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा २६ र नवलपरासी पश्चिममा २ जना रहेका छन्।
बाढीमा परी घाइते भएका ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। त्रिवि शिक्षण अस्पतालमा २०, त्रिशूली अस्पतालमा ९, ट्रमा सेन्टरमा ४, वीर अस्पतालमा ३, नर्भिक अस्पतालमा ३, वीरेन्द्र सैनिक अस्पतालमा १ र ग्रिन सिटी अस्पतालमा १ जनाको उपचार भइरहेको छ।
प्रहरीका अनुसार बिहीबार बिहान ५ बजेसम्म बाढीका कारण प्रभावित विभिन्न प्रहरी कार्यालयमा कार्यरत २८ जना प्रहरी कर्मचारी सम्पर्कविहीन रहेका छन्।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि ३ हजार ३१८ प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ। उद्धार तथा बेपत्ता व्यक्तिको खोजी कार्य जारी रहेको छ।
