काठमाडौं । रसुवास्थित अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरिएको छ।
अत्यन्त कठिन र जोखिमपूर्ण परिस्थितिका बीच आयोजनास्थलमा उद्धार तथा पहुँच स्थापना गर्ने कार्य निरन्तर भइरहेको जनाइएको छ।
आयोजनास्थलको अवस्थाबारे हेलिकप्टरमार्फत पटक–पटक हवाई निरीक्षण गरी मूल्याङ्कन भइरहेको छ। उद्धार तथा खोजी कार्यका लागि आवश्यक उपकरण एक्साभेटरसमेत हेलिकप्टरमार्फत घटनास्थलमा पुर्याएर काम सुरु गरिएको बताइएको छ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले सामाजिक सञ्जालमार्फत उद्धार तथा खोजी कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक सबै प्रयास अघि बढाइएको जानकारी दिएका छन्।
मानवीय उद्धारलाई पहिलो प्राथमिकता दिइएको भन्दै सबैको सुरक्षित उद्धार नभएसम्म प्रयास निरन्तर जारी रहने जनाइएको छ। साथै, संवेदनशील परिस्थितिमा धैर्य र संयम अपनाउन तथा अपुष्ट सूचना र हल्लाको पछि नलागी आधिकारिक सूचनामा मात्र विश्वास गर्न आग्रह गरिएको छ।
