काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो ३६ घण्टामा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम जम्मा भएको छ।
अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म विभिन्न १० वाणिज्य बैंकमा रहेका कोषका खातामा दाताहरूले एक अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ जम्मा गरेका हुन्।
नेपाल–चीन सीमा हुँदै बग्ने भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीबाट ठूलो धनजनको क्षति भएपछि सरकारले मन्त्रिपरिषद् बैठकमार्फत प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसपछि राहत तथा उद्धारका लागि कोषमा व्यक्ति तथा विभिन्न संस्थाबाट सहयोग रकम जम्मा हुन थालेको हो।
सरकारले कोषमा रकम जम्मा गर्ने तथा त्यसको समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालय तोकेको छ। व्यक्तिगततर्फबाट नगद सहयोग गर्न इच्छुक दाताले मन्त्रालयमै पुगेर रकम प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ।
पछिल्लो रकमसहित कोषमा रहेको बचत रकम चार अर्ब नौ करोड ११ लाख ६० हजार रुपैयाँ पुगेको छ। यसअघि कोषमा दुई अर्ब १७ करोड २५ लाख नौ हजार ७५९ रुपैयाँ बचत रहेको थियो।
यसैबीच, बिहीबार ६ घण्टाको अवधिमा नेपालका निजी क्षेत्रका दाताबाट अर्थ मन्त्रालयमार्फत २७ करोड ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो।
उक्त रकममा विभिन्न मित्रराष्ट्रले घोषणा गरेका सहयोग भने समावेश गरिएको छैन।
