काठमाडौं । सरकारले गृह मन्त्रालयको सचिव परिवर्तन गरेको छ। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालयमा कार्यरत सचिव केदारनाथ शर्मालाई गृह मन्त्रालयको सचिवमा सरुवा गर्ने निर्णय गरेको हो।
गृह सचिवको जिम्मेवारीमा रहेका राजकुमार श्रेष्ठलाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा तानिएको छ।
सचिव श्रेष्ठ आगामी भदौ १५ गतेदेखि अनिवार्य अवकाशमा जाँदैछन्। अवकाशको मुखमा रहेका श्रेष्ठलाई जगेडामा राख्दै सरकारले शर्मालाई गृह मन्त्रालयको जिम्मेवारी दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ।
शर्माले अब गृह मन्त्रालयको प्रशासनिक नेतृत्व सम्हाल्नेछन्।
