काठमाडौँ । भोटेकोशीमा आएको भीषण बाढीपछि रसुवाका विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका नेपाली तथा विदेशी नागरिकको उद्धारका लागि चीनले विशेष उद्धार टोली नेपाल पठाउने भएको छ।
रसुवास्थित सुरक्षा स्रोतका अनुसार चिनियाँ जनमुक्ति सेनाको टोली केही समयमै रसुवा पुग्ने तयारीमा छ। टोलीमा सुरुङ उद्धारमा विशेषज्ञता हासिल गरेका चार जना विज्ञसमेत रहने बताइएको छ।
बुधबार आएको विनाशकारी बाढीका कारण रसुवाका विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा इन्जिनियर, प्राविधिक तथा कामदारहरू फसेका छन्। उनीहरूको उद्धारका लागि नेपाली सेनाले प्रयास गरिरहेको भए पनि उद्धार कार्य जटिल बन्दै गएपछि सरकारले चीन र भारतबाट प्राविधिक सहयोग लिने निर्णय गरेको हो।
सरकारले शुक्रबार राति मात्रै चीन र भारतसँग सहयोग लिने निर्णय गरेको बताइएको छ। निर्णयपछि भारतको ‘टनेल रेस्क्यु’ टोली शुक्रबार राति नै काठमाडौँ आइपुगेको छ।
अब चिनियाँ टोली पनि रसुवा पुगेर सुरुङभित्र फसेकाहरूको अवस्थाबारे अध्ययन गर्दै उद्धार अभियानमा सहभागी हुने तयारीमा छ।
यद्यपि, उद्धारका लागि विदेशी विशेषज्ञ टोली बोलाउने निर्णय ढिलो भएको भन्दै सरकारको आलोचना समेत भइरहेको छ।
