काठमाडौँ । नेपाल–चीन सीमा क्षेत्रमा बुधबार आएको विनाशकारी आकस्मिक बाढीले त्रिशूली नदी आसपासका बस्ती, पुल, जलविद्युत् आयोजना तथा अन्य पूर्वाधारमा पुर्याएको क्षतिको भयावह तस्वीर स्याटेलाइट तस्बिरमार्फत थप स्पष्ट भएको छ।
बीबीसी भेरिफाइले अमेरिकी भूउपग्रह तथा इन्टेलिजेन्स कम्पनी ‘भान्टोर’ र ‘प्लानेट ल्याब्स’बाट प्राप्त स्याटेलाइट तस्बिरको विश्लेषण गर्दै बाढीले नेपालका सीमावर्ती क्षेत्रमा ठूलो भौतिक क्षति पुर्याएको जनाएको छ। नेपाली अधिकारीहरूका अनुसार विपद्मा ५ सय ५० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने सयौँ अझै बेपत्ता छन्।
सीमावर्ती क्षेत्रको ठूलो हिस्सा बगायो
बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये नेपाल–तिब्बत सीमाको महत्त्वपूर्ण नाका पनि परेको छ। स्याटेलाइट तस्बिरमा बाढीले उक्त क्षेत्रको ठूलो हिस्सा बगाएको देखिन्छ।
प्रत्यक्षदर्शीले खिचेका भिडियो तथा सीसीटीभी फुटेजमा बाढीको भीषण भेल भवनभित्र पस्दै गरेको र मानिसहरू ज्यान जोगाउन भागिरहेको दृश्य देखिन्छ।
स्याटेलाइट विश्लेषणअनुसार बाढी र पहिरोको प्रभाव प्रारम्भिक क्षति भएको स्थानबाट करिब साढे दुई किलोमिटर माथिल्लो क्षेत्रमा समेत फैलिएको छ। कतिपय स्थानमा नदीको सतहभन्दा सय मिटर माथिसम्म माटो, ढुङ्गा तथा भग्नावशेष पुगेको देखिएको छ।
टिमुरे बस्तीको ठूलो हिस्सा पुरियो
सीमाबाट केही किलोमिटर दक्षिणमा रहेको टिमुरे बस्ती पनि बाढीको चपेटामा परेको छ। नयाँ स्याटेलाइट तस्बिरमा पहाडी भिरमा रहेका अधिकांश घर बगिसकेको वा बाक्लो हिलोले पुरिएको देखिन्छ।
टिमुरेमा उपत्यकाका भित्ताहरू नदीको सतहभन्दा करिब ५० मिटर अग्ला छन्। तर, बाढीसँगै आएको तीव्र बहाव, ढुङ्गा र माटोले भिरमा रहेका बस्तीसमेत व्यापक रूपमा प्रभावित भएका छन्।
स्याफ्रुबेँसीमा घर, पुल र जलविद्युत् आयोजनामा क्षति
टिमुरेबाट करिब १० किलोमिटर तल रहेको स्याफ्रुबेँसी क्षेत्रमा पनि बाढीको ठूलो प्रभाव देखिएको छ।
स्याटेलाइट तस्बिरमा बस्तीको ठूलो हिस्सा माटो, ढुङ्गा तथा भग्नावशेषले ढाकिएको देखिन्छ। धेरै घर तथा संरचना हराएका छन् भने पुल र जलविद्युत् आयोजनासमेत बाढीले क्षतिग्रस्त बनाएको देखिन्छ।
त्रिशूली बजारमा बस्ती नै बगायो
सीमाबाट करिब ४५ किलोमिटर तल रहेको त्रिशूली बजार क्षेत्रमा पनि बाढीले ठूलो क्षति पुर्याएको छ। स्याटेलाइट तस्बिरमा एउटा सिङ्गो बस्ती तथा आसपासको कृषि क्षेत्रको ठूलो हिस्सा बाढीले बगाएको देखिन्छ।
बाढीका बेला खिचिएका प्रमाणित भिडियोमा त्रिशूली नदीको बहाव तीव्र बन्दै जाँदा एउटा पुल भत्किएको दृश्य देखिन्छ। अर्को भिडियोमा बसभित्र रहेका यात्रुहरू नदीबाट आएको भीषण भेल देखेर आत्तिएको देखिन्छ।
त्यस्तै, अर्को प्रमाणित भिडियोमा एउटा घरको बाल्कोनीबाट मानिसहरूले बाहिर हेरिरहेका बेला बाढीले आसपासका संरचना, ठूला धातुका भग्नावशेष र सवारीसाधनसमेत बगाएको देखिन्छ।
हिमनदी भत्किएपछि सुरु भएको विनाशकारी बहाव
‘प्लानेट ल्याब्स’ले सार्वजनिक गरेको नयाँ स्याटेलाइट तस्बिरले बाढीको सम्भावित उत्पत्तिस्थलसमेत थप स्पष्ट पारेको छ। तस्बिरमा हिमनदीको ठूलो हिस्सा भत्किएर तल खसेको र त्यसले पहाडमा चट्टान तथा भग्नावशेषको विशाल मार्ग बनाएको देखिन्छ।
हिमनदीबाट खसेको पहिरोको आधार क्षेत्रमा नदीको सतहभन्दा ३ सय मिटरभन्दा माथिसम्मका रूख तथा वनस्पति उखेलिएको देखिएको छ। यही मार्ग हुँदै पानी, ढुङ्गा र माटो तीव्र गतिमा तलतर्फ बगेको अनुमान गरिएको छ।
थप बाढीको जोखिम कायमै
पहिरो गएको क्षेत्रमा स्याटेलाइट तस्बिरले पहिरोले नदी थुनिएर ताल बनेको समेत देखाएको छ। चिनियाँ अधिकारीहरूले उक्त ताल फुटेमा थप बाढी आउन सक्ने चेतावनी दिएका छन्। यसले खोज तथा उद्धार अभियानमा समेत चुनौती थपेको छ।
हिमनदी विज्ञहरूका अनुसार स्याटेलाइट तस्बिरबाट ताल कति स्थिर छ वा अचानक फुट्ने सम्भावना कति छ भन्ने कुरा निश्चित गर्न कठिन हुन्छ। यद्यपि, बुधबारदेखि बिहीबारसम्म तालमा पानी प्रवेश गरे पनि यसको सतह र क्षेत्रफलमा उल्लेख्य वृद्धि नदेखिएको बताइएको छ।
तालबाट तलतर्फ पानी निस्कने निकास मार्ग देखिनुले केही पानी बाहिरिइरहेको संकेत गरेको छ। हाल तालमा जम्मा भएको पानीको मात्रा अत्यधिक ठूलो नभएको र अवस्था क्रमशः स्थिर हुँदै गएको आकलन गरिएको छ।
तिब्बततर्फको क्षतिको पूर्ण विवरण अझै अस्पष्ट
नेपालतर्फ भएको क्षतिको प्रारम्भिक तस्वीर स्याटेलाइट तस्बिरबाट स्पष्ट भए पनि तिब्बततर्फको क्षतिको पूर्ण विवरण अझै सार्वजनिक हुन सकेको छैन।
चीनले उक्त क्षेत्रमा विदेशी सञ्चारमाध्यमको पहुँचमा कडाइ गरेका कारण त्यहाँबाट प्रमाणित भिडियो तथा प्रत्यक्ष विवरण सीमित रहेको बीबीसीले जनाएको छ।
बीबीसीका अनुसार सार्वजनिक भएका स्याटेलाइट तस्बिरहरू क्षतिको प्रारम्भिक झलक मात्र हुन्। ती तस्बिरले सबैभन्दा बढी प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहतका लागि स्रोत परिचालन गर्न सम्बन्धित निकायलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।
