• Monday 5th of October 2026

माथिल्लो त्रिशूली ३ ‘ए’ मा पुनः बाढी आउँदा कटान तीव्र, उपकरण निकाल्न हेलिकप्टरमार्फत ‘स्पेसल फोर्स’ परिचालन गरिँदै


  • धनकुटा खबर
  • .

काठमाडौँ। रसुवा तथा नुवाकोट क्षेत्रमा आएको विनाशकारी विपद्का कारण माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका नागरिकहरूको उद्धार कार्य सरकारले रातभरि नै निरन्तर जारी राखेको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार आज बिहान करिब ४:०० बजे आयोजना स्थलमा पुनः बाढी आएपछि त्रिशूली नदीको जलसतह ५ देखि १० मिटरसम्म बढेको छ। नदीको सतह अत्यधिक बढेका कारण आयोजना क्षेत्रको किनार तीव्र रूपमा कटान हुन थालेको छ।

बाढी र नदी कटानको जोखिम थपिए तापनि सरकारले पूर्ण सतर्कताका साथ आयोजना क्षेत्रको समग्र क्षति र परिस्थितिको सुक्ष्म अवलोकन गरिरहेको छ। आयोजना स्थलमा थुप्रिएको माटो तथा लेदो हटाउन पुनः डोजर र भारी उपकरणहरू परिचालन गर्ने तयारी भइरहेको छ।

पहिरो र माटोले पुरिएको त्रिशूली ३ ‘ए’ को टनेल पोर्टल तथा पावर हाउस नियन्त्रण गर्ने १९ वटा सीसीटीभी क्यामेरा, एचडीआर र सेटअप बक्सहरू सुरक्षित रूपमा निकाल्न सरकारले हेलिकप्टरमार्फत ‘स्पेसल फोर्स’ परिचालन गर्ने तयारी गरेको छ।

प्रभावित क्षेत्रतर्फ जाने सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएकाले पुरिएको भवन नजिकै हेलिकप्टरबाट टोली उतारेर ती संवेदनशील प्राविधिक उपकरणहरू सुरक्षित रूपमा बाहिर निकाल्ने योजना बनाइएको छ।

जोखिम कायमै रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन र सुरक्षा निकाय तथा स्थानीय प्रशासनको सम्पर्कमा रहन पुनः अपिल गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖