• Monday 5th of October 2026

विपत्तिमा राजनीति बन्द गर, जनताको भावनामा खेलबाड नगर : विष्णु रिमाल


  • धनकुटा खबर
  • .

काठमाडौं, १५ भदौ । नेकपा एमालेका नेता विष्णु रिमालले विपद्का बेला राजनीति बन्द गरी उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई प्रभावकारी रूपमा अघि बढाउन सरकारसँग आग्रह गरेका छन्। 

 

विपत्तिको समयमा जनताको भावनासँग खेलबाड नगर्न चेतावनी दिँदै उनले उद्धार (रेस्क्यु), राहत (रिलिफ) र पुनर्स्थापना (रिहाबिलिटेसन) का कार्यहरू एकीकृत रूपमा सञ्चालन हुनुपर्नेमा जोड दिएका छन्।

 

नेता रिमालले विपद् व्यवस्थापनका लागि केन्द्रदेखि स्थानीय तहसम्मका सरकारी निकायबिच बलियो समन्वय हुनुपर्ने र नागरिक समाज तथा सामाजिक संगठनहरूलाई समेत परिचालन गरिनुपर्ने बताएका छन्। तर, हाल फिल्डको वस्तुस्थिति हेर्दा केन्द्र सरकार समन्वय गर्नुको सट्टा एकाकी ढङ्गले अघि बढ्न खोजेको जस्तो देखिएको उनको आरोप छ। राज्यको समग्र सामर्थ्य परिचालन गर्नुपर्ने निकायहरूले प्रचारबाजीमा मात्र ध्यान दिँदा जनतामाथि अन्याय भइरहेको उनले उल्लेख गरेका छन्।

 

यसैबिच, रिमालले राहत वितरणका नाममा केही मन्त्रीहरू र उनीहरूसँग सम्बद्ध गैरसरकारी संस्था (एनजीओ) हरूको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्। विपत्तिलाई केही व्यक्तिले व्यापारको अवसर बनाएको टिप्पणी गर्दै उनले बहालवाला मन्त्रीहरू संलग्न वा प्रवर्द्धित एनजिओहरूले राहतका नाममा ‘फिल्ड-कब्जा’को धन्दा सुरु गरेको सुनिएको बताएका छन्।

 

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता रिमालले लेखेका छन्, ‘विपत्तिमा राजनीति बन्द गर। सहयोग गर्न चाहनेलाई सहजीकरण गर। सके दुःखमा मल्हम लगाऊ, नसके जनताको भावनामा प्लीज खेलबाड नगर।’ उनले विपद्को यो घडीमा सरकारले नियन्त्रणमुखी नभई सहयोगी र सहजीकरणको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖