काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले रसुवा र नुवाकोट भएर बहने भोटेकोशी, त्रिशूली तथा आसपासका साना नदीमा आकस्मिक बाढीको उच्च सम्भावना रहेको जनाएको छ।
महाशाखाले बुधबार बिहान जारी गरेको बाढी पूर्वानुमान बुलेटिनमा यी दुई जिल्लाका नदी तथा खोलामा बाढीको उच्च जोखिम रहेको उल्लेख गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।
यसैगरी देशका तीन दर्जनभन्दा बढी जिल्लाका साना नदी तथा खोलामा पनि बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।
गत भदौ १० गते रसुवाको भोटेकोशीमा विनाशकारी बाढी आएको भए पनि हाल भोटेकोशी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ। कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीसँगै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि हाल सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ।
यद्यपि आगामी तीन दिन प्रमुख नदीहरूमा जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ। कोशी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदी बेसिनमा बहाव बढ्ने सम्भावना रहेको छ।
नारायणी नदी बेसिनअन्तर्गत त्रिशूली नदीको बेत्रावती जलमापन केन्द्रमा आज र भोलि जलसतह उल्लेख्य बढेर जोखिमको तहसम्म पुग्न सक्ने अनुमान गरिएको छ। बुढीगण्डकी, मर्स्याङ्दी र सेती नदीमा पनि बहाव बढ्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
बुधबार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, धादिङ, मकवानपुर, चितवन, गोरखा, तनहुँ, लमजुङ, मनाङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी र बागलुङका साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।
त्यस्तै रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सल्यान, सुर्खेत, जाजरकोट, दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर आसपासका साना नदी तथा खोलामा बहाव उल्लेख्य बढेर आकस्मिक बाढी आउन सक्ने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बिहीबार पनि सातै प्रदेश भएर बहने केही साना नदी तथा खोलामा बहाव आकस्मिक रूपमा बढ्न सक्ने सम्भावना छ। त्यसैले नदी तथा खोलाको आसपास र तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
