काठमाडौँ । परराष्ट्र मन्त्रालयले रसुवामा आएको बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यबारे नेपालस्थित कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिलाई जानकारी गराएको छ।
बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले कूटनीतिक ब्रिफिङ र समसामयिक विषयबारे जानकारी दिएका हुन्।
परराष्ट्रमन्त्री शिशिर खनालको उपस्थितिमा भएको ब्रिफिङमा विभिन्न देशका राजदूत तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिलाई बाढीपछि नेपालको अवस्था, भइरहेको उद्धार तथा राहत कार्य र हालसम्मको प्रगतिबारे जानकारी गराइएको थियो।
ब्रिफिङमा सहभागी कूटनीतिक प्रतिनिधिहरूले विपद्प्रति दुःख व्यक्त गर्दै नेपाललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। नेपाल सरकारले विभिन्न मुलुक तथा संस्थाबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गरेको मन्त्रालयले जनाएको छ।
यसैबीच, सम्भावित दाता सम्मेलनबारे सोधिएको प्रश्नमा प्रवक्ता क्षेत्रीले सम्बन्धित निकायसँग आवश्यक छलफल तथा समन्वय भइरहेको बताए। सम्मेलनको मिति र तयारीबारे टुंगो लागेपछि विस्तृत जानकारी दिइने उनको भनाइ छ।
मन्त्रालयले चीनको केरुङ क्षेत्रमा रहेका करिब १ हजार ४ सय नेपाली नागरिकको अवस्थाबारे पनि जानकारी दिएको छ। तीमध्ये करिब १ सय जना तातोपानी नाका हुँदै नेपाल फर्कने क्रममा रहेको प्रवक्ता क्षेत्रीले बताए।
सामाजिक सञ्जालमा आएका केही अपुष्ट सूचनाको खण्डन गर्दै उनले केरुङमा रहेका नेपालीहरू हराएका नभई सडक अवरुद्ध भएका कारण त्यहाँ रोकिएको स्पष्ट पारे।
‘उहाँहरू हराएर फेला पर्नुभएको होइन। कामको सिलसिलामा केरुङमा रहनुभएका नेपालीहरू बाटो अवरुद्ध भएका कारण त्यहाँ रोकिनुभएको हो,’ उनले भने।
विपद्का कारण परिवारका सदस्य गुमाएका तथा तत्काल नेपाल फर्कनुपर्ने अवस्थामा रहेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश ल्याउन चिनियाँ पक्षसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।
सडकमार्ग अवरुद्ध भए वैकल्पिक मार्ग प्रयोग गरेर भए पनि केरुङमा रोकिएका नेपालीलाई छिटो नेपाल ल्याउने प्रयास भइरहेको प्रवक्ता क्षेत्रीले जानकारी दिए।
