काठमाडौं । सरकारले भदौ २२ गते सार्वजनिक बिदा नदिएको स्पष्ट पारेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो। तर, राष्ट्रिय शोक मनाउने निर्णयलाई सार्वजनिक बिदाका रूपमा बुझिएपछि सरकारले उक्त दिन बिदा नरहेको स्पष्ट पारेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक अधिकारीका अनुसार भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय भएको हो, तर सार्वजनिक बिदा दिने निर्णय गरिएको छैन।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले पनि भदौ २२ गते सार्वजनिक बिदा नरहेको जानकारी दिएका छन्।
सरकारले राष्ट्रिय शोकका अवसरमा सार्वजनिक बिदा नभई निर्धारित कार्यक्रमअनुसार शोक मनाउने निर्णय गरेको जनाएको छ।
