• Monday 5th of October 2026

त्रिशूली थ्री–ए सुरुङको मुख खोल्न चिनियाँसहितको प्राविधिक टोली प्रयासरत


  • धनकुटा खबर
  • .

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटस्थित त्रिशूली–३ ए जलविद्युत् आयोजनाको केबल डक्ट टनेलको मुख खुलाएर उद्धार टोलीलाई भित्र प्रवेश गराउने प्रयास जारी छ।

बाढीका कारण आयोजनाको सुरुङ तथा मुख्य संरचनाहरू पुरिएपछि मानिसहरू भित्र फसेको आशंकामा नेपाली सेनाको नेतृत्वमा चिनियाँ टोलीसहित ९३ जनाको टोली खोजी तथा उद्धारमा खटिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। उद्धारमा पाँचवटा एक्स्काभेटर, कम्प्रेसर र ब्रेकरलगायतका उपकरण प्रयोग भइरहेका छन्।

सुरुङको मुखमा करिब ४० मिटर लामो र २० मिटर अग्लो भत्किएका फलामे संरचना तथा ठूला ढुंगा र अन्य डेब्रिस भेटिएको थियो। निरन्तरको प्रयासपछि उक्त अवरोध हटाउँदै माथिबाट करिब ३ फिट सुरुङको मुख खुलाइएको जनाइएको छ।

सुरुङको मुख केही खुलेपछि उद्धार टोली करिब १५ देखि २० मिटर भित्रसम्म प्रवेश गरिसकेको छ। तर, एक्स्काभेटर तथा अन्य मेसिनसहित उद्धार टोलीलाई थप भित्र लैजान सुरुङको मुख पूर्ण रूपमा खुलाउनुपर्ने भएकाले बाँकी डेब्रिस हटाउने काम भइरहेको छ।

सुरुङभित्र रहेका थप सातवटा ठूला बोल्डर हटाउन ब्लास्टिङको तयारीसमेत गरिएको छ।

करिब १७० मिटर लामो उक्त सुरुङ माटो र लेदोले भरिएको छ। सुरुङ पूर्ण रूपमा छिचोलेपछि मात्रै भित्र रहेको पावर हाउस लगायतका अन्य संरचनासम्म पुग्न सकिने प्राविधिकहरूले बताएका छन्।

मानिसहरू सुरुङभित्र फसेको आशंकामा उद्धार टोलीले अत्यन्त सावधानीपूर्वक अवरोध हटाउँदै खोजी कार्य अघि बढाइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖