• Monday 5th of October 2026

बाढीपछि आशाको किरण : ११औँ दिन चण्डिका र चिनियाँ नागरिकको जीवितै उद्धार


  • धनकुटा खबर
  • .

नुवाकोट । रसुवा बाढीको ११औँ दिन शनिबार दुई चमत्कारिक उद्धार भएका छन्। नुवाकोटको बेत्रावतीमा घरको भग्नावशेषमा पुरिएकी ५५ वर्षीया चण्डिका श्रेष्ठ र रसुवामा निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङमा फसेका एक चिनियाँ नागरिकलाई जीवितै उद्धार गरिएको हो।

विदुर नगरपालिका–१० बेत्रावतीस्थित आनन्द श्रेष्ठको चारतले घरको भग्नावशेषमा पुरिएकी चण्डिकालाई सशस्त्र प्रहरी बलको टोलीले ११औँ दिनमा जीवितै उद्धार गरेको हो। उद्धारपछि उनले सुरक्षाकर्मीले दिएको पानीसमेत पिएकी छन्।

सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार चण्डिका बोल्न सक्ने अवस्थामा रहेकी छन्। पहिरोले आधा पुरिएको घरभित्रबाट मानिसले आवाज निकालेको सूचना पाएपछि सुरक्षाकर्मी घटनास्थल पुगेका थिए। त्यसपछि भग्नावशेष हटाउँदै खोजी गर्दा चण्डिका जीवितै फेला परेकी हुन्।

सशस्त्र प्रहरीका इन्स्पेक्टर सुमन विकको कमान्डमा रहेको टोलीले उनको उद्धार गरेको हो। उद्धारपछि पानी खुवाउँदा चण्डिकाले पानी पिएपछि उद्धारमा खटिएका सुरक्षाकर्मी तथा स्थानीयमा थप उत्साह छाएको थियो। उनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी गरिएको छ।

यसै दिन रसुवा बाढीबाट प्रभावित २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–४ सुरुङबाट एक चिनियाँ नागरिकलाई पनि जीवितै उद्धार गरिएको छ।

नेपाली सेना र दक्षिण कोरियाका विपद् विज्ञ सम्मिलित टोलीले ती चिनियाँ नागरिकलाई शनिबार सुरुङबाट बाहिर निकालेको हो। ११औँ दिनमा जीवितै उद्धार गरिएका उनलाई नुवाकोटको त्रिशूलीस्थित मैथली ब्यारेकतर्फ लगिएको जनाइएको छ।

भदौ १० गते आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना क्षेत्र तथा सुरुङ प्रभावित भएको थियो। सुरुङमा फसेका व्यक्तिको खोजी तथा उद्धारका लागि नेपाली सेना र विदेशी विपद् विज्ञको टोली परिचालन गरिएको थियो।

यसअघि शुक्रबार बाढी आएको १०औँ दिनमा त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट पनि दुई जनाको जीवितै उद्धार गरिएको थियो। सुरुङभित्र फसेका सञ्जय साह र कबिर महर्जनलाई उद्धार टोलीले जीवितै बाहिर निकालेको थियो।

लगातार दुई दिन घरको भग्नावशेष र सुरुङबाट मानिसहरू जीवितै उद्धार भएपछि विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार अभियानमा थप आशा पलाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖