• Monday 5th of October 2026

अन्ततः देउवा समूहको मुख्य माग कांग्रेस संस्थापनले पूरा गर्‍यो


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहले राख्दै आएको क्रियाशील सदस्यताको डिजिटल अद्यावधिकसम्बन्धी माग सम्बोधन गरेको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले क्रियाशील सदस्यता नवीकरण गरेका तर प्राविधिक कारणले डिजिटल रूपमा अद्यावधिक हुन नसकेका सदस्यलाई पनि आगामी १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी गराउने निर्णय गरेको हो।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार पार्टी अनुशासन उल्लङ्घन गरेका, पार्टी परित्याग गरेका तथा निधन भएका सदस्यबाहेक नवीकरण गरेका तर प्राविधिक कारणले अद्यावधिक हुन नसकेका सबै क्रियाशील सदस्यले महाधिवेशन प्रक्रियामा भाग लिन पाउनेछन्।

यस निर्णयसँगै डिजिटल प्रणालीमा सदस्यता अद्यावधिक नभए पनि १५औँ महाधिवेशनका लागि सदस्यता नवीकरण गरेका कांग्रेस कार्यकर्ताले महाधिवेशनमा सहभागी हुन पाउने भएका छन्।

पार्टी सभापति गगन थापाले शनिबार साँझ निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालासँग भेटवार्ता गरेका थिए। त्यसपछि उनीहरूको मागअनुसार कार्यसम्पादन समितिबाट निर्णय गरिएको कांग्रेसका एक पदाधिकारीले बताएका छन्।

यद्यपि, देउवा समूहले क्रियाशील सदस्यताको विषय मात्र समाधान भएर सहमतिको वातावरण नबन्ने जनाएको छ।

देउवा समूहका नेता डा. प्रकाशशरण महतले १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले नै १५औँ महाधिवेशन सम्पन्न गर्न पाउनुपर्ने आफूहरूको मुख्य माग रहेको बताएका छन्।

“यो निर्णयले मात्रै सहमतिको सम्भावना छैन। हाम्रो मुख्य माग १४औँ महाधिवेशनबाट आएको नेतृत्वले १५औँ महाधिवेशन गर्नुपर्छ भन्ने हो। सहमतिका लागि यो माग पूरा हुनुपर्छ,” महतले भने।

यससँगै कांग्रेसभित्र १५औँ महाधिवेशनको तयारी र नेतृत्व हस्तान्तरणको विषयमा विवाद कायमै देखिएको छ।

केन्द्रीय कार्यसम्पादन समितिको अर्को बैठक सोमबार दिउँसो १ बजे पुनः बस्ने गरी स्थगित भएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖