• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

विवादका बाबजुद जियानी इन्फान्टिनो पुनः फिफा अध्यक्षमा लडने पक्का


  • धनकुटा खबर
  • .

काठमाडौँ, २२ भदौ। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले आफ्नो नेतृत्वलाई लिएर जारी विवादका बाबजुद अर्को वर्ष हुने निर्वाचनमा पुनः प्रतिस्पर्धा गर्ने इच्छा दोहोर्‍याएका छन्।

 

पोल्यान्डमा आयोजित महिला यु–२० विश्वकपका क्रममा पत्रकारहरूले उनको भविष्यबारे सोधेको प्रश्नको जवाफ दिन इन्फान्टिनोले अस्वीकार गरे। विश्वकप लगायतका फिफा प्रतियोगिताहरूमा निजी लगानीकर्ताहरूलाई हिस्सेदारी बेच्ने प्रयास गरेपछि ५६ वर्षीय स्विस नागरिक इन्फान्टिनोमाथि राजीनामा दिनुपर्ने चर्को दबाब छ।

 

युरोपेली फुटबलको नियामक निकाय युइएफएले इन्फान्टिनोलाई पद छाड्न आह्वान गरेको छ भने एसियाली महासंघ तथा उत्तर र मध्य अमेरिका एवं क्यारिबियन क्षेत्रका देशहरूको प्रतिनिधित्व गर्ने संस्था ‘कोन्काकाफ’ बाट पनि उनको विरोध भइरहेको छ।

 

तर यो योजना सार्वजनिक भएयता पहिलो पटक, फिफाले अर्को वर्ष हुने निर्वाचनमा इन्फान्टिनो चौथो तथा अन्तिम कार्यकालका लागि उम्मेदवार बन्ने मनसायमा अडिग रहेको कुरा दोहोर्‍याएको छ। यदि उनी पुनः निर्वाचित भएमा सन् २०३१ सम्म विश्व फुटबलको प्रमुखका रूपमा काम गरिरहने छन्।

 

फिफाका एक प्रवक्ताले भने, “फिफा अध्यक्षले अप्रिलमा घोषणा गरेका थिए कि उनी सन् २०२७ मा पुनः निर्वाचनमा उठ्नेछन्। पक्कै पनि यसमा कुनै परिवर्तन आएको छैन, इन्फान्टिनो पुनः निर्वाचनमा उठ्नेछन्।”

 

कोन्काकाफका अध्यक्ष भिक्टर मोन्टाग्लियानीलाई इन्फान्टिनोका सबैभन्दा बलिया प्रतिस्पर्धीका रूपमा हेरिएको छ। फिफाका उपाध्यक्ष समेत रहेका मोन्टाग्लियानी लामो समयदेखि इन्फान्टिनोका निकट सहयोगी मानिन्थे तर विश्वकपमा निजी लगानी भित्र्याउने (पछि रद्द गरिएको) योजनाका कारण उनीहरूबिच दूरी बढेको थियो।

 

यद्यपि, इन्फान्टिनोका समर्थकहरूको पनि कमी छैन। सन् २०३४ को पुरुष विश्वकप आयोजक साउदी अरबले गत महिना उनको समर्थन गरेको थियो भने अफ्रिकी फुटबलको नियामक निकाय ‘क्याफ’  र दक्षिण अमेरिकाको ‘कोन्मेबोल’ ले पनि उनलाई नै समर्थन जनाएका छन्।

 

सन् २०२७ को मार्चमा हुने निर्वाचनका लागि हालसम्मका एकमात्र घोषित उम्मेदवारका रूपमा सन् २०१६ मा सुरु भएको आफ्नो कार्यकाल लम्ब्याउन इन्फान्टिनोले फिफामा आबद्ध २११ महासंघहरूबाट सामान्य बहुमत प्राप्त गर्नुपर्नेछ। आगामी वर्षको निर्वाचनका लागि उम्मेदवारी दर्ता १८ नोभेम्बरभित्र गरिसक्नु पर्नेछ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖