काठमाडौं । जर्मनीमा ३५ वर्षीय फुटबल खेलाडी मारियुसलाई आफ्नै सहकर्मी खेलाडी फिलिपलाई विष दिएर हत्या गरेको आरोपमा पक्राउ गरिएको छ ।
प्रहरीले मारियुसले सन् २०२५ जुनमा टोलीसँगै ड्रेसडेन भ्रमणमा रहेका बेला ३० वर्षीय फिलिपलाई लुकाएर विष दिएको हुन सक्ने आशंका गरेको छ ।
फिलिपको मृत्यु भएको करिब १५ महिनापछि मारियुस पक्राउ परेका हुन् । प्रहरीले घटनाको पछाडि व्यक्तिगत बदला हुन सक्ने आशंकामा समेत अनुसन्धान अघि बढाएको छ ।
सुरुमा फूड पोइजनिङको आशंका
ड्रेसडेनबाट फर्किएपछि फिलिपको स्वास्थ्य अवस्था अचानक गम्भीर बनेको थियो । परिवारले आपत्कालीन सेवामा खबर गरेपछि उनलाई अस्पताल लगिएको थियो । चिकित्सकहरूले बचाउने प्रयास गरे पनि १६ जुन २०२५ मा उनको मृत्यु भएको थियो ।
चिकित्सकीय परीक्षणमा उनको मृत्युको कारण सेप्टिक मल्टिअर्गन फेलियर अर्थात् संक्रमणका कारण शरीरका विभिन्न अंगले काम गर्न छाड्नु देखिएको थियो ।
सुरुमा परिवार र नजिकका व्यक्तिहरूले टोलीको भ्रमणका क्रममा माछा खाएका कारण उनलाई गम्भीर फूड पोइजनिङ भएको हुन सक्ने अनुमान गरेका थिए ।
तर पछि गरिएको अनुसन्धानमा उनको मृत्युमा विषको भूमिका रहेको तथ्य बाहिर आएको थियो । त्यसपछि प्रहरीले सहकर्मी खेलाडी मारियुसमाथि अनुसन्धान केन्द्रित गरेको हो ।
महिलालाई लिएर विवाद भएको चर्चा
रोकनबर्ग क्षेत्रमा मारियुस र फिलिपबीच एक महिलालाई लिएर विवाद भएको चर्चा रहेको बताइएको छ । यही विवादका कारण मारियुसले बदला लिन फिलिपलाई विष दिएको हुन सक्ने आशंका प्रहरीले गरेको हो ।
तर अहिलेसम्म महिलालाई लिएर भएको कथित विवाद नै हत्याको कारण भएको पुष्टि भने भएको छैन ।
मारियुस हाल प्रहरी हिरासतमा छन् । उनले प्रहरीसमक्ष आफूमाथि लागेको आरोपबारे कुनै बयान दिएका छैनन् । उनीमाथिको आरोप पनि अदालतबाट प्रमाणित भइसकेको छैन । मारियुस वा उनका वकिलका तर्फबाट समेत अहिलेसम्म सार्वजनिक प्रतिक्रिया आएको छैन ।
मारियुस पक्राउ परेपछि टूस रोकनबर्गका खेलाडी तथा अफिसियलहरू स्तब्ध भएका छन् ।
क्लबका फुटबल प्रमुख म्यानुएल बारुफेले स्थानीय सञ्चारमाध्यमसँग भने, ‘हामी सबै स्तब्ध छौँ । कसैले पनि यस्तो अपेक्षा गरेको थिएन। प्रहरीले घटनाको पूर्ण सत्य बाहिर ल्याउनेछ भन्ने हाम्रो आशा छ ।’
क्लबले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तिमा गत वर्ष एक सहकर्मी खेलाडीको अचानक मृत्यु भएपछि आफूहरू पहिले नै कठिन अवस्थाबाट गुज्रिरहेको जनाएको छ । अहिलेको घटनाले क्लबमा आबद्ध सबैका लागि परिस्थिति थप भावनात्मक बनेको क्लबले जनाएको छ ।
क्लबले अनुसन्धानमा अधिकारीहरूको कामप्रति विश्वास रहेको बताउँदै अनुसन्धान पूरा नभएसम्म घटनाबारे थप टिप्पणी नगर्ने जनाएको छ ।
फिलिपको मृत्युपछि टूस रोकनबर्गले उनलाई श्रद्धाञ्जली दिएको थियो । क्लबले उनलाई ‘साथी, मैदानमा संघर्ष गर्ने खेलाडी र ठूलो मन भएको व्यक्ति’का रूपमा सम्झिएको थियो ।
उनको परिवारले पनि फिलिपको ठूलो हाँसो र स–साना कुरामा समेत खुसी हुने बानीलाई सम्झिएको थियो ।
विवाहको दुई साताअघि पक्राउ
मारियुसलाई उनको विवाहको करिब दुई साताअघि पक्राउ गरिएको बताइएको छ । रिपोर्टअनुसार उनले यसअघि नै सिभिल सेरेमोनीमा विवाह गरिसकेका थिए भने यही महिनामा ठूलो विवाह समारोह आयोजना गर्ने तयारीमा थिए ।
तर निर्धारित विवाह समारोहभन्दा करिब दुई साताअघि उनी पक्राउ परे ।
हाल मारियुस हिरासतमा छन् र घटनाबारे अनुसन्धान जारी छ । प्रहरीले फिलिपलाई विष दिनुको पछाडि बदला नै मुख्य कारण थियो वा थिएन भन्ने अझै स्पष्ट गरेको छैन । मारियुसमाथि लागेको हत्या आरोप पनि अनुसन्धानकै क्रममा रहेको छ ।
