• Monday 5th of October 2026

महेश बस्नेतको अभिव्यक्तिपछि प्रहरीको आपत्ति


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले बाढीपहिरो पीडितका लागि आएको राहत सामग्री सुरक्षाकर्मीले प्रयोग गरेको भन्दै दिएको अभिव्यक्तिप्रति नेपाल प्रहरीले आपत्ति जनाएको छ।

सामाजिक सञ्जालमार्फत सुरक्षा निकायलाई लक्षित गरी तथ्यहीन, कपोलकल्पित तथा भ्रामक सूचना फैलाइएको भन्दै नेपाल प्रहरीले मंगलबार प्रेस विज्ञप्ति जारी गरी गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी खोज, उद्धार तथा राहत वितरणमा खटिएका छन्।

यही सन्दर्भमा एमाले नेता बस्नेतले एक भिडियो अन्तर्वार्तामा सेना र प्रहरीमाथि राहत सामग्री हिनामिना गरेको आरोप लगाएका थिए। उनले राहत सामग्री सुरक्षाकर्मीले प्रयोग गर्ने गरेको तथा पीडितका लागि आएको खाद्यान्न र तरकारीसमेत कुहिएर जाने गरेको दाबी गरेका थिए।

बस्नेतले ‘वान डोर सिस्टम’का नाममा सेना र प्रहरीका ब्यारेक तथा कार्यालयभित्र राहत सामग्री राखिएको र उद्धारका लागि हेलिकप्टर लैजानसमेत रोक लगाइएको दाबी गरेका थिए।

बस्नेतको उक्त अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै नेपाल प्रहरीले आफूसँग कुनै पनि राहत सामग्री भण्डारण नरहेको स्पष्ट पारेको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अबि नारायण काफ्लेद्वारा जारी विज्ञप्तिमा सामाजिक सञ्जालमार्फत ‘आर्मी–पुलिसले राहत सामग्री आफैँले लिएको, वितरण नगरेको र सडिगली गएको’ भन्ने आशयका भ्रमपूर्ण तथा तथ्यहीन अफवाह फैलाइएको विषयमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।

प्रहरीले विपद्का बेला आफ्नो ज्यानको समेत पर्वाह नगरी नागरिकको उद्धार, बेपत्ताको खोजी, घाइतेको उपचार तथा राहत वितरणमा सुरक्षाकर्मी खटिरहेको जनाएको छ।

विपद् व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीको मनोबलमा प्रतिकूल असर पर्ने, आम नागरिकमा सुरक्षा निकायप्रति अविश्वास सिर्जना हुने तथा संवेदनशील उद्धार र राहत कार्य प्रभावित हुने गरी कपोलकल्पित आरोप तथा अफवाह फैलाउनु दुःखद र गैरजिम्मेवार भएको प्रहरीको भनाइ छ।

प्रहरीले विपद्को संवेदनशील अवस्थामा तथ्य पुष्टि नगरी सुरक्षा निकायलाई लक्षित गरेर भ्रमपूर्ण सूचना प्रसार नगर्नसमेत आग्रह गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖