काठमाडौं । भोटेकोसी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म १ हजार ३६६ जनाको शव फेला परेको छ। नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार अझै ४ हजार ७७ जना सम्पर्कविहीन छन्।
प्रहरीका अनुसार फेला परेका शवमध्ये ५३३ पुरुष, ३३१ महिला र ५०२ वटा आंशिक अंगसहितका शव रहेका छन्। फेला परेका शवमध्ये हालसम्म १०२ वटा शव आफन्तलाई बुझाइएको छ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेका अनुसार सम्पर्कविहीनमध्ये स्वदेशीतर्फ २ हजार ९०७ पुरुष र ५७२ महिला छन्। यस्तै, विदेशी नागरिकतर्फ २६९ पुरुष र ३२९ महिला सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार तथा शव व्यवस्थापनको काम सुरक्षा निकायले निरन्तर गरिरहेको छ। हालसम्म फेला परेका शवमध्ये १ हजार १४७ वटा सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया जारी छ।
बाढीपछि हालसम्म ९ हजार २५४ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ६ हजार ३८० पुरुष, २ हजार ८२४ महिला र पहिचान नखुलेका ५० जना रहेका छन्।
उद्धार गरिएकामध्ये ३ हजार ३० जनालाई सुरक्षित रूपमा ‘होल्डिङ सेन्टर’मा राखिएको प्रवक्ता काफ्लेले जानकारी दिए।
बेपत्ता व्यक्तिको पहिचान तथा फेला परेका शवको सनाखत गर्न प्रहरीले डीएनए परीक्षणलाई प्राथमिकता दिएको छ। हालसम्म मृतक १ हजार २८६ जना र मृतकका आफन्त १ हजार ४१२ जना गरी कुल २ हजार ६९८ जनाको डीएनए नमुना संकलन गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार खोज, उद्धार, शव पहिचान तथा व्यवस्थापनको कार्य अझै जारी रहेको छ।
