काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशीमा आएको विनाशकारी बाढीलाई केवल प्राकृतिक विपत्तिका रूपमा मात्र बुझ्न नहुने बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै लामिछानेले भोटेकोशी बाढीबाट भएको क्षति जलवायु सङ्कटको असमान भारका कारण उत्पन्न भएको बताएका हुन्।
“भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूलाई केवल प्राकृतिक विपत्तिमा मृत्यु भएका भन्न सकिन्न। यो जलवायु सङ्कटको असमान भारका कारण उनीहरूले ज्यान गुमाउनुपरेको हो,” उनले भने।
नेपालजस्ता विकासशील मुलुकहरूले जलवायु परिवर्तनमा आफ्नो योगदान न्यून भए पनि त्यसको गम्भीर असर भोग्नुपरेको उनको भनाइ थियो। उनले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको क्षतिका विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिए।
लामिछानेले नेपालले अब अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको मागलाई सशक्त रूपमा उठाउनुपर्ने बताए।
“हामी अब जलवायु न्याय माग्छौँ। यसका लागि हामी विश्वको ढोका–ढोका ढकढक्याउने छौँ,” उनले भने।
जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय समुदायलाई जिम्मेवार बनाउनुपर्ने र यस विषयमा नेपालको आवाज अझ सशक्त बनाउनुपर्ने उनले बताए।
विपद्को कठिन परिस्थितिमा प्रभावित क्षेत्रका बासिन्दाले देखाएको एकताको प्रशंसा गर्दै लामिछानेले ठूलो संकट र अपूरणीय क्षति व्यहोर्दासमेत एकअर्काको हात समातेर उभिनु नेपाली समाजको शक्ति भएको बताए।
“यति ठूलो संकट र अपूरणीय क्षति व्यहोर्दा पनि उहाँहरू एकअर्काको हात समातेर उभिइरहनुभएको छ। यो साहस र एकता नै हाम्रो शक्ति हो,” उनले भने।
सभापति लामिछानेले भोटेकोशीसहित देशभरका बाढीपहिरो प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनालाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने बताए। साथै, विपद्का कारण भएको क्षतिको विषयलाई राष्ट्रियसँगै अन्तर्राष्ट्रिय तहमा समेत प्राथमिकताका साथ उठाउनुपर्नेमा उनले जोड दिए।
