काठमाडौँ – सत्तारुढ रास्वपाका सांसद मधुकुमार चौलागाईंले ग्यास अभावलाई सरकारले सम्बोधन गर्न नसकेको भन्दै आक्रोश पोखेका छन्।
लामो समयदेखि भएको ग्यास अभाव अझै हट्न नसक्दा मुख देखाएर हिड्न पनि गाह्रो हुन थालेकोको चौलागाईंको भनाइ छ।
बुधबार संसदको शून्य समयमा उनले भने, ‘भोटेकोशी बाढीले ठूलै बितन्डा मच्चायो । हामीले त्यसबाट ठूलो क्षति भोगेका छौँ। तर त्यससँगै अहिले बजारमा ग्यासको हाहाकार छ । ग्यास अभाव र हाहाकारका कारण बजारमा अहिले मुख देखाएर हिँड्न गाह्रो भयो । सरकार के हेरेर बसेको छ?’
त्यस्तै सांसद चौलागाईंले देश आन्दोलनको स्मरणमा मंगलबार बानेश्वरमा सरकारले गरेको सभाप्रति पनि प्रश्न उठाए। सरकारका आठ जना मन्त्री सहभागी भएको कार्यक्रमको उद्घाट विवादित धर्म गुरुको हातबाट गराइएको थियो भने गृहमन्त्री सुधन गुरुङले आपत्ति जनक अभिव्यक्ति दिएका थिए।
उनले भने, ‘गत वर्ष बलिदानी गरेका जेनजीहरूको सम्झनामा हिजो कार्यक्रम आयोजना गरियो । त्यो कार्यक्रममा जेनजीहरूको भावनाविपरीत गएर किन गरियो ? त्यहाँ विवादित व्यक्तिहरूलाई किन सहभागी गराइयो ? त्यसबारे जवाफ दिनुपर्छ।’
