काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारलाई ‘तासको पत्ता’को संज्ञा दिएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सिंहले सरकारले सुरुदेखि नै मधेसी समुदायमाथि प्रहार गरेको आरोप लगाए । उनले मधेसीमाथि राज्यको व्यवहार पीडादायी रहेको भन्दै सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाए ।
बविता पासवानको भिडियोको प्रसंग उठाउँदै सिंहले राज्यले मधेसीलाई न्याय गर्न नसकेको आरोप लगाए । ‘तपाईं मधेसीको बलमा सरकार ठड्याउनुभएको छ, तपाईंको यो सरकार तासको पत्ता हो,’ उनले भने ।
सिंहले दीपककुमार साहको बर्खास्तीदेखि गौरीकुमारी यादवको राजीनामासम्मका घटनालाई मधेसीमाथिको प्रहारसँग जोड्दै प्रधानमन्त्रीको आलोचना गरे ।
उनले मधेसीको बर्दिवास मेडिकल बनाउने सपना तुहाइएको, रसुवा बाढीपछिको उद्धारमा ढिलाइ भएको तथा किसानले मल नपाएको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाए ।
शिक्षा तथा स्वास्थ्य क्षेत्रमा समेत सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाउँदै सिंहले न्यायालय, कर्मचारीतन्त्र र प्रधानमन्त्रीको सचिवालयसमेत अस्तव्यस्त बनेको दाबी गरे । प्रधानमन्त्रीका सल्लाहकार र सचिवालयकै कारण सरकार असफलतातर्फ उन्मुख भएको उनको आरोप थियो ।
