• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

बार्सिलोनाको १०५ वर्षपछिको नयाँ रेकर्ड: ५ खेलमा २२ गोल


  • धनकुटा खबर
  • .

बार्सिलोना (स्पेन), २६ भदाैं । एफसी बार्सिलोनाले नयाँ सिजन २०२६/२७ को उत्कृष्ट सुरुआत गरेको छ। विशेष गरी गोल गर्ने मामिलामा टोलीले लोभलाग्दो प्रदर्शन गरिरहेको छ।

 

यस सिजनका पहिलो पाँच खेलमा बार्सिलोनाले कुल २२ गोल गरेको छ, जसमध्ये चार खेलमा टोलीले कम्तीमा ५-५ गोल प्रहार गरेको छ। पछिल्लो पटक बुधबार ‘स्पोटिफाई क्याम्प नोउ’ मा भएको युइएफए च्याम्पियन्स लिगको खेलमा बार्सिलोनाले फेयनोर्डलाई ५-१ को फराकिलो अन्तरले पराजित गरेको थियो।

 

सिजनको सुरुआती चरणमै चार खेलमा ५ वा सोभन्दा बढी गोल गरेको बार्सिलोनाको यो इतिहास १०५ वर्षपछिको पहिलो हो। यसअघि सन् १९२१/२२ को सिजनमा अङ्ग्रेज प्रशिक्षक ज्याक ग्रीनवेलको नेतृत्वमा टोलीले यस्तो कीर्तिमान बनाएको एफसी बार्सिलोनाले जनाएकाे छ। 

 

यस सिजन बार्सिलोनाले ला लिगामा एल्चेविरुद्ध ५-०, रायो भालेकानोविरुद्ध ५-२ र भ्यालेन्सियाविरुद्ध ५-० को जित निकालेको थियो भने च्याम्पियन्स लिगमा फेयनोर्डविरुद्ध ५-१ को जित दर्ता गर्‍यो। यसबाहेक एथलेटिक क्लबविरुद्धको २-० को जितलाई समेत जोड्दा बार्सिलोनाले ५ खेलमा २२ गोल गरिसकेको छ। यति धेरै गोलको तथ्याङ्क सन् १९५० मा फर्डिनान्ड दाउचिक प्रशिक्षक रहेयता क्लबमा कहिल्यै देखिएको थिएन।

 

यस सिजन टोलीका लागि राफिन्हा ८ गोलका साथ सर्वाधिक गोलकर्ताको रूपमा अग्रस्थानमा छन्। यस्तै लामिन यामलले ५, फर्मिन लोपेजले ४, करिम अदेयेमीले २, पेद्रीले १ र ग्याब्रियल जेससले १ गोल गरेका छन्। टोलीको अर्को एक गोल भने रायो भालेकानोविरुद्ध आत्मघाती उपहारस्वरूप प्राप्त भएको थियो।

 

मुख्य प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा रहेको बार्सिलोनाले २०२६/२७ सिजनको सुरुआतमै क्लबको कीर्तिमान पुस्तिकामा आफ्नो नाम दर्ता गराउन सफल भएको बार्सिलाेनाले जनाएकाे छ ।५ खेलमा २२ गोल गर्दै मात्र ४ गोल खाएको यो दमदार प्रदर्शनले आगामी सिजन अझ रोमाञ्चक हुने टाेलीले विश्वास गरेकाे छ।

 

बुधवार मात्रै, युइएफए च्याम्पियन्स लिगअन्तर्गतकाे खेलमा घरेलु टोली बार्सिलोनाले डच क्लब फेयनोर्डमाथि ५-१ को पछिल्लाे फराकिलो जित हासिल गरेको छ।

 

यस सिजन बार्सिलोनाले खेलेका ५ खेलमध्ये एकै खेलमा ५ गोल गरेको यो चौथो पटक हो। सिजनको सुरुआत मात्र भए पनि स्पेनिस च्याम्पियन बार्सिलोनाले आफ्नो लयलाई कायम राख्दै १२ वर्षदेखिको च्याम्पियन्स लिग उपाधि खडेरी अन्त्य गर्ने बलियो सम्भावना देखाएको खेल विश्लेषकहरूले बताएका छन ।

 

राफिन्हाकाे जादु अदितिय

खासगरी, सन् २०२२ मा लिड्स युनाइटेडबाट ‘राइट विङ्गर’का रूपमा अनुबन्धित भई पछि ‘लेफ्ट विङ्गर’मा रूपान्तरित भएका राफेल दि जिआस बेलोली अर्थात राफिन्हाले हाल ‘नम्बर ९’ (स्ट्राइकर) को भूमिकामा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। खेल तथ्याङ्कविद् पेड्रो मार्टिनका अनुसार राफिन्हाले हालसम्म बार्सिलोनाका लागि खेलेका हरेक खेलमा गोल गरेका छन्। उनका अनुसार यस्तो दुर्लभ उपलब्धि सन् १९५० मा सेसार रोड्रिग्वेजले हासिल गरेयता पहिलो पटक देखिएको हो। 

 

बिशेष गरी युरोपेली प्रतियोगिताहरूमा उनी थप प्रभावशाली देखिएका छन्। पछिल्ला तीन च्याम्पियन्स लिग सिजनमा उनको नाममा २८ गोल-योगदान (गोल र असिस्ट) दर्ता भइसकेको छ। उक्त अवधिमा उनीभन्दा बढी गोलमा प्रत्यक्ष संलग्न हुने खेलाडीमा बायर्न म्युनिखका ह्यारी केन (२९ गोल-योगदान) मात्र अगाडि छन्।

 

बुधवारकाे खेलको चौथो गोल लामिन यामालले फ्रि-किकमार्फत गर्दा पनि एक रेकर्ड बनेकाे छ । च्याम्पियन्स लिगमा उनको यो १२औँ गोल हो। यससँगै उनी किशोर उमेरमा यस प्रतियोगितामा सर्वाधिक १३ गोल गर्ने किलियन एम्बाप्पेको कीर्तिमान बराबरी गर्नबाट मात्र एक गोलले पछि परेका छन्। साथै, फेयनोर्डविरुद्ध जेससका लागि गोलको अवसर सिर्जना गरिदिए सँगै १९ वर्षीय यामालको बार्सिलोनाका लागि कुल १०१औँ गोल-योगदान (गोल र असिस्ट) पूरा भएको छ।

 

यससँगै यो सिजन बार्सिलोनाको कुल गोल सङ्ख्या २२ पुगिसकेकाे छ। सन् १९५०-५१ को सिजन, जसमा यस चरणसम्म २३ गोल भएको थियो, यता टोलीले पहिलो पटक यति धेरै गोल गरेको हो।

 

त्यसैले हाेला, खेलको अन्त्यतिर मैदानबाट बाहिरिँदै गर्दा रङ्गशालाभरि “राफिन्हा क्याप्टेन” को नारा गुञ्जिएकाे थियाे ।

 

बार्सिलाेनाले ५ गोलको फराकिलो अन्तरले जितेका प्रमुख खेलहरू:

न्यूक्यासल युनाइटेड( ७-२ को जितः ५ गोलको अन्तर)

प्रतियोगिता: युइएफए च्याम्पियन्स लिग (राउन्ड अफ १६, सेकेन्ड लेग)

मिति: मार्च १८, २०२६

मुख्य विवरण: च्याम्पियन्स लिगको नकआउट चरणमा राफिन्हा र रोबर्ट लेवान्डोस्कीले २-२ गोल गर्नुका साथै लामिन यामाल, मार्क बर्नाल र फर्मिन लोपेजले १-१ गोल गर्दै ऐतिहासिक जित दिलाएका थिए।

 

भ्यालेन्सिया ५-० को जित (५ गोलको अन्तर)

प्रतियोगिता:  ला लिगा (सिजन २०२६-२७)

मिति: सेप्टेम्बर ६, २०२६

मुख्य विवरण: भ्यालेन्सियाको घरेलु मैदान मेस्टल्लामा बार्सिलोनाले एकतर्फी प्रदर्शन गर्दै ५-० को फराकिलो जित निकालेको थियो।

 

एल्चे ५-० को जित (५ गोलको अन्तर)

प्रतियोगिता: ला लिगा (सिजन २०२६-२७)

मिति: अगस्ट २३, २०२६

मुख्य विवरण: ला लिगाको नयाँ सिजनको सुरुआती खेलमै बार्सिलोनाले एल्चेलाई ५-० ले पराजित गरेको थियो।

 

डच क्लब फेयनोर्डः ५-१ (४ गाेलकाे अन्तर)

प्रतियाेगिताः  युइएफए च्याम्पियन्स लिग

मितिः सेप्टेम्बर १० २०२६

मुख्य बिवरणः राफिन्हाले व्यक्तिगत दोस्रो गोल थपेका थिए भने करिम एडेयेमी, लामिन यामाल र ग्याब्रियल जेससले १-१ गोल गरेका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖