• Monday 5th of October 2026

मैले बोलेका शब्दले चोट पुर्‍याएको भए क्षमाप्रार्थी छु : कानुनमन्त्री


  • धनकुटा खबर
  • .

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले जेनजी आन्दोलन’ स्मृति दिवसका क्रममा दिएको अभिव्यक्तिप्रति क्षमा मागेकी छन् । राष्ट्रिय सभाको आजको बैठकमा मन्त्री गौतमले राष्ट्रिय सभाका सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले आफूले बोलेको अभिव्यक्तिले चोट पुर्‍याएको भए क्षमा माग्छु भनेकी हुन् ।

उनले भनिन्, ‘मैले बोलेका तथ्यगत कुराले यहाँहरूको हृदयमा चोट पुगेको भए म क्षमाप्रार्थी छु। आगामी दिनमा यस्ता विषयमा सतर्क हुनेछु।’ उनले भदौ २३ गतेको कार्यक्रममा राष्ट्रिय सभाले कानुन निर्माणका क्रममा असहयोग गरेको बताएकी थिइन् ।

मन्त्री गौतमले आफूले बोलेका कुराहरूलाई गलत ढङ्गले व्याख्या गरिएको दाबी गर्दै आफ्नो भनाइको बचाउ गरिन्। उनले संसद्को दुवै सदनबिच सहकार्य आवश्यक रहेको र आफूले कुनै पनि सदनलाई नहोच्याएको स्पष्ट पारिन्।

मन्त्री गौतमले भनिन्, ‘जेनजी आन्दोलनका क्रममा उठेका कानुन निर्माण र संविधान संशोधनका विषयमा मैले तथ्यभन्दा बाहिर गएर केही बोलेकी छैन। मैले राष्ट्रिय सभाले असहयोग गर्‍यो भन्ने शब्द कतै पनि प्रयोग गरेकी छैन, माननीयहरूले रेकर्ड हेर्न सक्नुहुन्छ।’

उनले कानुन निर्माण प्रक्रिया प्रतिनिधि सभा, राष्ट्रिय सभा हुँदै राष्ट्रपतिबाट प्रमाणीकरण हुने एक जटिल प्रक्रिया भएको उल्लेख गर्दै राजनीतिक भाषालाई जसरी व्याख्या गर्न खोज्यो, त्यसरी नै अर्थ लाग्ने गरेको बताइन्। ‘प्रतिनिधि सभाले दुई तिहाइ मत दिए पनि कानुन निर्माणका लागि दुवै सदनको सहकार्य अनिवार्य छ,’ उनले भनिन्।

आफ्नो अभिव्यक्तिलाई लिएर पत्रकार, दलका नेता र सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी भएको र त्यसले माननीयहरूको भावनामा चोट पुगेको हुनसक्ने भन्दै मन्त्री गौतमले दुःख व्यक्त गरिन्।

उनले आफूले नबोलेका कुराहरूको जिम्मेवारी लिन नसक्ने स्पष्ट पार्दै आगामी दिनमा दुवै सदनबिच सुमधुर सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाइन् । ‘मैले बोकेको हदसम्म म जवाफ दिन तयार छु। हामी मिलेर नै कानुन निर्माणको प्रक्रियालाई गति दिनुपर्छ,’ उनले भनिन्।

मन्त्री गौतमले पछिल्लो समय कानुन निर्माण प्रक्रियामा ढिलाइ भएको भन्ने गुनासाहरूलाई सम्बोधन गर्दै छिटोछरितो कानुन निर्माणका लागि सहकार्यको खाँचो रहेकोमा जोड दिइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖