• Monday 5th of October 2026

प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनलाई पक्राउ गरी छानबिन गर्न जेनजी मुभमेन्टको माग


  • धनकुटा खबर
  • .

काठमाडौं । जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनलाई पक्राउ गरी अनुसन्धान गर्न माग गरेको छ।

जेनजी मुभमेन्टका प्रवक्ता विजय शाहले शुक्रबार जारी गरेको विज्ञप्तिमा बेनमाथि कल बाइपासजस्तो गम्भीर आपराधिक गतिविधिमा संलग्न भएको तथा विदेशी जासुसी संयन्त्रसँग कथित अपारदर्शी सम्पर्क रहेको आरोप उठेको भन्दै तत्काल अनुसन्धान गर्न माग गरेका हुन्।

विज्ञप्तिमा गम्भीर आरोप लागेका व्यक्तिलाई प्रधानमन्त्रीको प्रमुख सल्लाहकारजस्तो संवेदनशील जिम्मेवारीमा राख्नु कानुनी शासनको उपहास भएको उल्लेख छ। पद र पहुँचका आधारमा अनुसन्धानबाट उन्मुक्ति दिन नहुने उसको भनाइ छ ।

मुभमेन्टले कुमार बेनलाई राज्यमन्त्री स्तरको सुविधा दिइएको, तर उनको शैक्षिक योग्यता एसएलसी पास मात्र रहेको भन्दै प्रधानमन्त्रीको प्रमुख सल्लाहकार नियुक्तिको योग्यतामाथिसमेत प्रश्न उठाएको छ।

त्यस्तै, सत्तारूढ दलकै सांसदले संसदमा सरकारको वास्तविक शक्ति केन्द्र सिंहदरबार नभई ज्वागल बनेको अभिव्यक्ति दिएको विषयलाई पनि मुभमेन्टले संवेदनशील रूपमा उठाएको छ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारमाथि विदेशी जासुसी संयन्त्रसँग कथित भेटघाट तथा सम्पर्कको आरोप लाग्नु राष्ट्रिय सुरक्षासँग जोडिएको विषय भएको उसले जनाएको छ। बिहीबार प्रतिनिधिसभाको बैठकमा रास्वपाकै सांसद अमरेशकुमार सिंहले कुमार बेनले नयाँ दिल्लीमा एक होटलमा भारतीय जासुसी संस्थाका प्रमुखलाई भेटेको बताएका थिए ।

प्रधानमन्त्रीले संसदमा नेपालको सीमा अतिक्रमण र राष्ट्रिय सार्वभौमिकताका विषयमा प्रश्न उठाउने तर आफ्नै प्रमुख सल्लाहकारमाथि सोही देशका कथित जासुसी संयन्त्रसँग अपारदर्शी सम्पर्कको आरोप लाग्दा मौन बस्ने हो भने सरकारको नियतमाथि गम्भीर प्रश्न उठ्ने मुभमेन्टको भनाइ छ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖