• Monday 5th of October 2026

किन बोलाइएन ब्रिक्स सम्मेलनमा नेपाललाई ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । भारतमा आयोजित ब्रिक्स सम्मेलनमा जलवायु परिवर्तनको विषयमा व्यापक छलफल भएको छ । भर्खरै जलवायु परिवर्तनकै प्रभाव स्वरुप प्राकृतिक विपद् झेलेको नेपालले भने छिमेकी मुलुकमै आयोजना भएको ब्रिक्स सम्मेलनमा सहभागिता जनाउन पाएन ।

त्यसो त, नेपाल ब्रिक्स सदस्य राष्ट्र होइन । यद्यपि, सर्वेक्षक वा अतिथिको रूपमा आयोजक राष्ट्रले बोलाउन सक्ने अवस्था नभएको होइन ।

१८औँ ब्रिक्स शिखर सम्मेलन आज सम्पन्न हुँदैछ । सम्मेलनमा भारतले छिमेकी मुलुक र विपद् प्रभावित भएका कारण पनि नेपाललाई बोलाएको भए हुन्थ्यो भन्नेबारे चर्चा भइरहेको छ ।

भारतका लागि पूर्वनेपाली राजदूत डा.शंकर शर्माले भारतले ब्रिक्स सम्मेलनमा नबोलाउनु आपत्तिको विषय नहुने बताए । ‘बोलाउँदा हुन्थ्यो तर नबोलाएकोेमा पनि हामीले आपत्ति गर्ने ठाउँ छैन,’ उनले भने, ‘सार्कको अध्ययक्षको नाताले नेपाललाई निमन्त्रणा दिनुपर्थ्यो, तर अहिले सार्क नै निष्क्रिय भएको कारणले सायद निमन्त्रणा नदिएको हुनुपर्छ ।’

शर्माका अनुसार भारतले बंगलादेशलाई बिमस्टेकको अध्यक्ष राष्ट्र भएको कारण निमन्त्रणा पठाए पनि बंगलादेश सहभागी नभएको प्रस्ट पारे ।

किन बोलाएन भारतले ?

भारतले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहलाई पहिलादेखि नै भारत भ्रमण गराउन चाहेको हो । भारतले भ्रमणका लागि प्रधानमन्त्री बालेनलाई निमन्त्रणा पठाइसके पनि प्रधानमन्त्रीबाट चासो नदेखाइएको कारण भ्रमण हुन सकेको छैन ।

ब्रिक्स शिखर सम्मेलनकै बहानामा पनि भारतले प्रधानमन्त्री बालेनलाई बोलाउने योजना बनाएको थियो । तर नेपालले नै ध्यान नदिएको परराष्ट्र मामिलाका एक जना जानकारले बताए । उनले भने, ‘ब्रिक्स शिखर सम्मेलनमा भारतले प्रधानमन्त्री बालेनलाई निमन्त्रणा गर्न चाहेको थियो, तर नेपालले नै चासो देखाएन । पछि नेपालले ब्रिक्स सम्मेलनका लागि चासो लिन थालेपछि भारतले चासो लिएन र बोलाएन ।’

भारतले चाहेको भए सार्कको अध्यक्ष राष्ट्रको हैसियतामा नेपाललाई ब्रिक्स सम्मेलनमा आमन्त्रण गर्न सक्ने अवस्था रहेको उनले बताए । नेपालको अपरिपक्व कूटनीतिका कारण यस्तो अवस्था आएको उनको भनाइ छ ।

पूर्वराजदूत विजयकान्त कर्णका अनुसार प्रधानमन्त्री बालेन विदेश भ्रमणप्रति इच्छुक नदेखिएका कारण ब्रिक्स सम्मेलनको आयोजक राष्ट्रले नेपाललाई बोलाउन चासो नलिएको हुनुसक्ने बताए । ‘ब्रिक्स सम्मेलनमा नेपाललाई बोलाउने कुनै आधार नै छैन,’ उनले भने, ‘सन् २०१६ मा बिमस्टेकको अध्यक्ष राष्ट्र भएको कारण तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई बोलाएको थियो । त्यही हैसियतमा यसपाली बंगलादेशलाई बोलाएको थियो तर बंगलादेश सहभागी भएन ।’

यसपटक भारतले नेपाललाई मात्र होइन, सदस्य राष्ट्र तथा साझेदार राष्ट्र बाहेक अरु कुनै देशलाई नबोलाएको पूर्वराजदूत कर्णले बताए । उनले भने, ‘सार्कका अध्यक्ष राष्ट्रका हैसियतमा बोलाउन सकिन्थ्यो तर अहिले सार्कप्रति भारतको चासो नरहेको कारणले पनि नबोलाएको हुन सक्छ ।’

ब्रिक्समा उठ्यो जलवायुको कुरा

नेपालमा जलवायु परिवर्तनको कारण ठुलो विनाश भएको छ । यस अवस्थामा सम्मेलनमा नेपाल पनि सहभागी हुन सकेको भए प्रभावकारी हुन सक्थ्यो भन्ने तर्क गर्नेहरू प्रशस्त छन् । सम्मेलनमा ठुला विकासशील देशहरूले जलवायु परिवर्तनको बारेमा एक स्वरमा बोलेका छन् । जलवायुको कुरा घोषणापत्रमा पनि समावेश गरिँदैछ । जलवायु कार्य, वित्त र विपद् तयारीको लागि आह्वान गर्न लागिएको छ । यस अवस्थामा नेपालको उपस्थिति नहुँदा खल्लो महसुस भएको टिप्पणी भइरहका छन् ।

लुम्बिनी प्रदेशका पूर्वप्रदेश सभा सदस्य गिरीधारीलाल न्यौपानलेले नेपालका दुई छिमेकी राष्ट्र भारत र चीन ब्रिक्सका महत्त्वपूर्ण सदस्य रहेको भन्दै विश्वका ठुला तथा उदाउँदा अर्थतन्त्रहरू एकै ठाउँमा भेला भएको अन्तर्राष्ट्रिय मञ्चबाट नेपालले आफूलाई अलग राख्न नहुने बताए ।

अन्तर्राष्ट्रिय मञ्चबाट नेपालले आफूलाई अलग राख्नु वा यसको सम्भावित प्रभाव र अवसरलाई सामान्य रूपमा लिनु दूरदर्शी कूटनीतिक दृष्टिकोण नहुने उनले बताए ।

अब नेपालको कूटनीति केवल निमन्त्रणा पर्खने र औपचारिक प्रतिनिधित्वमा सीमित हुन नहुनेमा जोड दिँदै उनले बदलिँदो विश्व परिस्थितिलाई समयमै पहिचान गर्दै नयाँ सम्बन्ध, नयाँ बजार र नयाँ आर्थिक सम्भावनाको खोजी नेपालले आफैँ गर्नुपर्ने प्रस्ट पारे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖