काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका प्रमुख नदी तथा सहायक नदीमा जलसतह बढ्ने पूर्वानुमान गरेको छ।
महाशाखाका अनुसार कोशी र नारायणी जलाधारअन्तर्गत सप्तकोशी, तमोर, अरुण, दूधकोशी, तामाकोशी, सुनकोशी, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती र कालीगण्डकीमा जलसतह उल्लेख्य बढ्नेछ। महाकाली नदीमा पनि तीन दिनसम्म जलसतह उल्लेख्य बढ्ने अनुमान छ।
कर्णाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीमा भने जलसतह सामान्य बढ्ने महाशाखाले जनाएको छ।
आज सङ्खुवासभा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, गोरखा, तनहुँ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, जाजरकोट, दैलेख, सुर्खेत, कालिकोट, हुम्ला, बझाङ र बाजुराका साना नदीमा बहाव उल्लेख्य बढ्ने तथा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।
भोलि सुदूरपश्चिम, लुम्बिनी र मधेस प्रदेशका केही साना नदीमा तथा पर्सि कोशी र मधेस प्रदेशका केही साना नदीमा बहाव आकस्मिक बढ्न सक्ने महाशाखाले जनाएको छ।
